राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशन बाट दाङको लमहीबाट प्रतिनिधित्व गर्ने ३४ वर्षीय युवा किरण खनाल निर्वाचित भएका छन्।
जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान भएको थियो। मतदानबाट सभापतिसहित विभिन्न पदमा १२ जना निर्वाचित भएका छन्।
कुल १५ सदस्य कार्यसमितिमा पराजय ब्यहोरे पनि मतदानमा २५ प्रतिशत कटाएको हुँदा निवर्तमान जिल्ला सभापति विनय घिमिरे जिल्ला सदस्यमा स्वतः पर्ने छन्। थप दुई जना भने मनोनीत गर्ने प्रावधान छ।
आइबार बिहान ३ बजे प्रकाशित निर्वाचन परिणाम अनुसार जिल्ला सभापतिमा निर्वाचित हुने लमही निवासी किरण खनालले १९६ मत प्राप्त गरेका थिए। उनी सभापति पदका चार प्रतिनिधिमध्य सबै भन्दा कम उमेरका थिए।
आइतबार बिहान ३ बजेतिर सार्वजनिक मतदानको अन्तिम नतिजा अनुसार आफूलाई जेनजी प्रतिनिधि बताउने खनाल सभापतिमा निर्वाचित हुँदा यसअघिका जिल्ला सभापति निवासी विनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए।
निर्वाचन संयोजक लोकमान रिजालले सेतोपाटीलाई दिएको जानकारी अनुसार प्रतिस्पर्धीमध्ये तुलसीपुर निवासी पूर्व एसपी केदार रजौरेले ६ र लमहीका ब्यापारी किरणकुमार आचार्यले जम्मा २ मत मात्रै प्राप्त गरेका थिए।
त्यस्तै उपभापति पदमा २० वर्षका निराजन थापा २४० मत प्राप्त गरी निर्वाचित भए। प्रतिस्पर्धी सुनिता रावतले ८० मत प्राप्त गरेको निर्वाचन संयोजक रिजालले बताए।
त्यस्तै सचिव पदमा असिम भुसाल २०० मत प्राप्त गरी निर्वाचित हुँदा बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए।
निर्वाचन संयोजक रिजालका अनुसार जिल्ला सहसचिव पदमा तीन जना प्रतिस्पर्धी मध्य प्रमिला रोका मगर १८४ मत प्राप्त गरी निर्वाचित भइन्। निकतम प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे।
त्यस्तै निर्वाचित सदस्यहरुमा प्रतापविक्रम पुन मगर १८३, होताराम आचार्य १०४, अनन्ता चौधरी १०६, चुमान चौधरी ९९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
एक जना पवित्रा बिक भने निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक रिजालले जानकारी दिए।
पार्टीको तीन क्षेत्रीय सभापति भने सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन संयोजक रिजालले बताए।
उनका अनुसार क्षेत्र नं. १ मा मोहन आचार्य, २ मा किरण खड्का र ३ मा लाजुराम चौधरी क्षेत्रीय सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।
सर्वसम्मत नेतृत्व चुन्ने प्रयास बिफल भएपछि शनिबार बेलुकीदेखि मतदान भएको थियो। त्यो मतदानमा कुल ३३५ मत खसेको थियो भने ६ मत बदर भएको निर्वाचन संयोजक रिजालले बताए।
रास्वपा दाङमा झन्डै साढे चार सय जना मतदाता थिए।
वडासभापति, पालिका कमिटी, प्रत्येक पालिका बाट ४ / ४ जिल्ला प्रतिनिधि , जिल्ला कमिटी, जिल्ला विभाग कमिटीहरु, जिल्ला र्याट, प्रदेश कमिटी, प्रदेश विभाग कमिटीहरु, केन्द्रीय प्रतिनिधिले जिल्ला नेतृत्व चुन्न मतदान गरेका थिए।