सुदूरपश्चिम सरकारले मन्त्री फेरबदल गर्न छलफल थालेको छ।
आइतबार सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको हो। मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पनि आजै टुंगो लगाएर शपथ गराउने तयारी भइरहेको स्रोतले बतायो।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले हाल मन्त्रीमा सामेल व्यक्तिहरूलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णय गरिसकेको छ।
स्रोतका अनुसार कांग्रेसका प्रमुख सचेतक विकास सिंह धामी र रक्षा महराको नाम अर्थमन्त्रीको लागि चर्चामा छन्।
त्यस्तै, पदमबहादुर शाही, बेलबहादुर राना मगर मन्त्रीका रूपमा र ललिता सुनार राज्य मन्त्रीका रूपमा सरकारमा जान सक्ने चर्चा छ।
शाही र मगर कांग्रेस सांसद देवान सिंहको सिफारिसमा मन्त्री बन्ने गरि सिफारिस गरिएका नामहरू हुन्। पछिल्लो समय सिंहले मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउनु पर्ने अभियान चलाएका थिए। त्यसपछि अहिले मुख्यमन्त्री शाहले सिंहकै सिफारिसमा कांग्रेसका दुई जनालाई मन्त्री बनाउने तयारी थालेको स्रोतले बताएको छ।
हाल शाह नेतृत्वको सरकारमा कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री छन्।
त्यस्तै, एमालेबाट अब संसदीय दलको उपनेता सन्तोषी शर्मा, सचेतक चक्र मल्ल, जानकी बम ऐर र दमन भण्डारी मन्त्री बन्ने चर्चा छ। सन्तोषी शर्मालाई राज्यमन्त्री बनाउने गरी एमालेमा छलफल चलिरहेको स्रोतले बतायो।
हाल शाह नेतृत्वको सरकारमा एमालेबाट विरबहादुर थापा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र निर्मला देवी साउँद भौतिक पूर्वाधार विकास राज्य मन्त्री छिन्।
सुदूरपश्चिम सरकारमा कांग्रेसका मुख्यमन्त्री शाहसहित हाल १० जनाको मन्त्रिपरिषद छ। शाह २०८१ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शाह पहिलो पटक २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसदहरू छन्। बहुमतका लागि २७ सांसद आवश्यक पर्ने हुँदा दुई ठूला दल कांग्रेस र एमाले मिले संख्या प्रयाप्त छ। सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना प्रदेशसभा सदस्य थिए। त्यसमध्ये फागुन २१ गतेको निर्वाचनमा पदबाट राजीनामा दिएर १ जना निर्वाचनमा लडेका थिए।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना सामुपातिक सांसद छन्। पछिल्लो समय नाउपा, समाजवादी लगायतका दलहरू नेकपामा समायोजित भएपछि बाँकी २१ जना सांसद नेकपाका पक्षमा छन्।