युद्ध अन्त्यका लागि अमेरिकाले वार्ता जारी राख्दा इसराइल र इरानबीच फेरि हानाहान भएको छ।
सोमबार बिहान इसराइलले इरानका सैन्य अड्डाहरूलाई लक्ष्य गर्दै हवाई आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले आइतबार इसराइलमा चार चरणमा कम्तिमा १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।
इसराइलमाथिको हमलालाई इरानले लेबननको राजीधानी बेरूतमा गरेको आक्रमणको जबाफ दिएको भनेको थियो।
इरानी हमलालाई हवाई प्रतिरक्षा प्रणालीमार्फत निस्तेज गरिएको र मानवीय क्षति नभएको आइडिएफले दाबी गरेको छ।
त्यसको जबाफमा इसराइलले तेहरानमा हमला गरेको हो।
तेहरानका विभिन्न पाँच ठाउँमा विस्फोटको आवाज सुनिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरान, कराज, इस्फहान, तब्रिज र केरमानशाहमा विस्फोटको आवाज सुनिएको छ। हमलापछि इरानले तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्र बन्द गरेको जनाएको छ।
इरान र इसराइलबीच अप्रिलको सुरुवातमा अमेरिकाको मध्यस्थतामा युद्धविराम लागू भएपछि पहिलोपटक एकअर्काको भूमिमा प्रत्यक्ष हमला भएको हो।
पछिल्लो घटनाले केही महिनादेखि नियन्त्रणमा रहेको द्वन्द्व फेरि व्यापक युद्धतर्फ उन्मुख हुने जोखिम बढाएको छ।
इसराइलले इरानमाथिको हमला सीमित दायराको रहेको बताएको छ। उसले इरानका हवाई प्रतिरक्षा प्रणाली तथा हतियार बनाउने कारखानालाई निशाना बनाएको भनेको छ।
इरानले हिजबुल्लाहलाई लक्ष्य गरी लेबनमा हुने हमला नरोकिए कडा जबाफ दिने चेतावनी दिँदै आएको थियो।
उसले सुरूवातदेखि नै युद्धविराममा लेबनन पनि समावेश हुनुपर्ने माग राख्दै आएको थियो। युद्धविराम हुँदा लेबनन पनि त्यसमा समेटिएको भनिएको थियो। तर त्यसलाई बेवास्ता गर्दै इसराइलले लेबननमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा लेबनन समावेश नभएको बताएका थिए।
इरानसँग वार्ता भइरहँदा इसराइलले लेबननमा भीषण आक्रमणको तयारी गरेपछि ट्रम्पले फोन नै गरेर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएका थिए। त्यसपछि इसराइल र लेबननबीच युद्धविराम भए पनि इसराइलले हमला रोकेको छैन।
ट्रम्पले भने इरान-इसराइलबीच हाना हान भए पनि वार्ताको पहल जारी रहने बताएका छन्।
अमेरिका र इरानबीच युद्धविराम अवधि थप ६० दिन बढाउने सहमति भई अहिले युद्ध अन्त्यको अन्तिम सम्झौताका लागि मस्यौदाहरूबारे सहमति खोज्ने प्रयत्न भइरहेको छ।
'यसले युद्धविराममा कुनै असर पार्दैन। किन कि सबै निर्णय गर्ने मैले हो, नेतन्याहूले होइन,' ट्रम्पले फाइनान्सियल टाइम्ससँग भनेका छन्।