इरानले रोक्का रहेको आफ्नो सम्पत्ति खाडी मुलुकलाई नदिन अमेरिकालाई चेतावनी दिएको छ।
इरानी आक्रमणबाट क्षति भएका खाडी राष्ट्रहरूको पुनर्निर्माणका लागि रोक्का भएको इरानी सम्पत्ति नै प्रयोगको तयारी अमेरिकाले गरिरहेको भन्ने समाचार सार्वजनिक भएपछि इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले यस्तो चेतावनी दिएका हुन्।
सामाजिक सञ्जालमा पोस्ट लेखेर उपविदेशमन्त्रीले रोक्का रहेको इरानी सम्पत्ति अमेरिकाका लागि उसका सहयोगीहरूलाई बाँड्ने भुक्तानी कोष नरहेको बताएका हुन्।
'न यो वासिङ्टनको युद्ध लुट हो, न त उसका सहयोगीहरूको भुक्तानी कोष,' गरिबाबादीले भनेका छन्।
उनले अमेरिकाले इरानको सम्पत्ति आफ्नो सहयोगीलाई दिए चुप नबस्ने, त्यसको उचित जबाफ दिने पनि बताएका छन्।
गरिबाबादीले इरानी सरकारको सहमतिविना इरानको सम्पत्ति जफत, हस्तान्तरण वा विनियोजन गरिए त्यो अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य हुने पनि बताएका छन्।
अमेरिकाले तेहरानसँग वार्ता र समझदारी खोजिरहेको दाबी गरिरहेको बेलामा यस्तो कदम प्रत्युत्पादक हुन सक्ने पनि उनको भनाइ छ।
केही खाडी मुलुकहरूले आफ्नो भूभाग र पूर्वाधार इरान विरूद्धको आक्रमणकै लागि दिएकाले पनि क्षतिपूर्ति माग्ने अवस्था नरहेको बताए। बरू उनीहरुले इरानमाथि भएको आक्रमणको क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।
अमेरिका र इसराइलले फेब्रूअरी २८ मा इरानमाथि आक्रमण सुरू गरे पछि इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन लगायत खाडी राष्ट्रमा प्रहार गरेको थियो।
इरानको सो जबाफी हमलामा भएको क्षतिको भरपाइका लागि रोकिएको इरानी सम्पत्ति प्रयोग गर्नेबारे अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले विचार गर्न थालेको भनेर सोमबार फाइनान्सियल टाइम्सले समाचार लेखेको थियो।
अमेरिका र अमेरिकासँग राम्रो सम्बन्ध भएका विभिन्न देशमा इरानको लगभग एक खर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको छ। युद्ध अन्त्य गर्नका लागि हाल चलिरहेको वार्तामा रोक्का गरेको सो सम्पत्तिको केही हिस्सा फुकुवा गर्नेबारे कुरा भइरहेको छ।
इरानले शान्ति सम्झौता नगरेर छिमेकीमाथि हमला गरिरहे रोक्का भएको सम्पत्ति ती राष्ट्रलाई प्रयोग गर्न दिने भनेर अमेरिकाले इरानलाई सम्झौता गर्न दबाब हालेको देखिन्छ।