परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा खनालले हालै भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए।
‘गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्त्व गर्दै भएको पहिलो उच्चस्तरीय भ्रमणबाट नेपाल र भारतबीचको मैत्रीपूर्ण र बहुआयामिक द्बिपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको मैले विश्वास लिएको छ,’ खनालले सदनलाई जानकारी गराउँदै भनेका थिए।
भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री जयशंकरसँग औपचारिक भेट र प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको उनले बताए।
दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक तथा उपलब्धिमूलक छलफल भएको पनि उनले बताए।
‘द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान–प्रदान गरिएको छ। नेपाल–भारतबीच द्विपक्षीय सहकार्यमा संचालित परियोजनाहरुको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको छ,’ उनले भने।
उक्त भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटघाट र छलफल भएको उनले बताए।
उनीसँगको बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भएको खनालले बताए।
भ्रमणका अन्तरदेशीय भुक्तानी सञ्चालन, नेपालमा भूकम्पपछि भारतको विकास सहयोगमा पुनर्निर्माण सम्पन्न भएका परियोजनाहरूको हस्तान्तरण, भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सह-निर्माणको लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया भाषिनी डिभिजनबीच समझदारी पत्र आदना प्रदान भएको उनले बताए।