अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको छ।
दुई देशबीच आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्।
प्रारम्भिक सम्झौतापत्र १४ बुँदाको रहेको इरानी समाचार संस्था मेहर न्युजले लेखेको छ। मेहरलाई उद्धृत गर्दै रोयटर्स, एपी लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि सहमतिका बुँदाहरू सार्वजनिक गरेका छन्।
वार्ता टोली निकट स्रोतका अनुसार मस्यौदामा लेबनानसहित सबै मोर्चामा युद्ध तत्काल र स्थायी रूपमा अन्त्य गर्ने व्यवस्था छ।
साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानको सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ।
प्रस्तावअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाइनेछ भने इरान वरपर तैनाथ अमेरिकी सैन्य बलहरू पनि फिर्ता गरिनेछ।
हर्मुज ३० दिनभित्र पुनः सञ्चालनमा ल्याइने तथा यसको व्यवस्थापन इरानले गर्ने व्यवस्था पनि समेटिएको बताइएको छ।
तेल तथा पेट्रोकेमिकल निर्यातमाथि लगाइएका प्रतिबन्ध निलम्बन गर्ने र इरानलाई आफ्ना रोक्का वित्तीय स्रोतमा पूर्ण पहुँच दिने प्रावधान पनि मस्यौदामा उल्लेख छ।
त्यसैगरी अमेरिका र उसका सहयोगीहरूले कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण योजना प्रस्तुत गर्ने प्रस्ताव राखिएको छ।
आणविक मुद्दामा ६० दिनको विशेष वार्ता अवधि तोकिएको छ।
जसमा इरानको उच्च संवर्धित युरेनियम भण्डार, प्रतिबन्ध हटाउने विषय र अन्तिम सम्झौताको रूपरेखा तय गरिनेछ।
मस्यौदाअनुसार इरानले आणविक अप्रसार सन्धि (एनपीटी) अन्तर्गत आणविक हतियार नबनाउने प्रतिबद्धता पुनः पुष्टि गर्नेछ। साथै वार्ताअवधिमा अमेरिकाले थप सैन्य तैनाथी नगर्ने र नयाँ प्रतिबन्ध नलगाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यस अवधिमा इरानका रोक्का २४ अर्ब डलरमध्ये आधा रकम वार्ता सुरु हुनुअघि र बाँकी ६० दिनभित्र उपलब्ध गराइने उल्लेख छ।
सम्झौता कार्यान्वयन अनुगमनका लागि विशेष संयन्त्र बनाइने र अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट अनुमोदन गरिने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ।
यद्यपि यो मस्यौदा अझै प्रारम्भिक चरणमा रहेको र सम्बन्धित पक्षहरूको औपचारिक स्वीकृति बाँकी रहेको दुवै पक्ष निकट स्रोतहरूले बताएको भनेर एपीले लेखेको छ।