राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल सरकारले सीमासँग सम्बन्धित सबै विषयको छानबिन गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आवश्यक परे दुई देशको सहमतिमा सिमावर्ती क्षेत्रमा वाल (पर्खाल) लगाउनु परे वाल, नत्र काँडे तारबार भए पनि लगाउनुपर्ने बताएकी छन्।
‘राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ। त्यसैले नेपाल सरकारले सीमा सम्बन्धित सबै विषयको सचेत छानबिन गरी आवश्यक कुटनीतिक पहल गरी अघि बढाओस भन्ने मेरो आग्रह छ। आवश्यक परे दुई देशको सहमतिमा सिमावर्ती क्षेत्रमा वाल लगाउनु परे वाल नत्र भने काँडे तारबार भन्ने पनि लगाइयोस्,’ उनले आग्रह गरिन्।
सुस्ताको समस्या कुनै नयाँ समस्या नभएको र धेरै वर्षदेखि अल्झिएको विषय भएको उनले बताइन्। गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको उनले बताइन्।
‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल एसएसबीका गतिविधि तथा स्थानीय नागरिकलाई धम्काइएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो? सरकारले यसबारे के कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी लिन आवश्यक छ। त्यस्तै लिपुलेक लिम्पियाधुरा र कालापानी जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र मौलिक अखण्डतासँग जोडिएको सम्बेदनशील विषय हुन्। यस्ता समस्या केवल ती क्षेत्रहरूमा मात्र सीमित छैनन्। अन्य सीमा क्षेत्रहरूमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान छन्,’ उनले भनिन्।