पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूप्रति आक्रोशित सुनिन थालेका छन्।
इरानसँगको युद्धलाई लिएर ट्रम्प र नेतन्याहूबीच मतभेद छ। युद्धविरामदेखि शान्ति सम्झौताका लागि हुने वार्ताहरूमा ट्रम्पले नेतन्याहूलाई समावेश गरेका छैनन्।
नेतन्याहू तत्काल इरानसँग सम्झौता गर्ने पक्षमा छैनन्। ट्रम्पले भने युद्ध अन्त्यका लागि अधिकतम प्रयास गरेकै कारण अमेरिका-इरानबीच सहमति पनि भइसकेको छ।
इरानसँगको अप्रत्यक्ष वार्तामा भएका सहमतिबारे नेतन्याहूलाई जानकारी गराएर सोही अनुसारको नीति अबलम्बन गर्न भन्दै आइरहेका थिए।
तर नेतन्याहूले ट्रम्पको निर्देशनलाई गम्भीर ढंगले नलिएको भनेर घटनाक्रमहरूले देखाउँछ। त्यसो हुँदा ट्रम्पले फोन नै गरेर नेतन्याहूलाई थर्काएका छन्, गाली गरेका छन्।
आइतबार पनि त्यही क्रम दोहोरियो।
अमेरिकी अनलाइन एक्सियससँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्प नेतन्याहूप्रति आक्रोशित सुनिए।
आइतबार युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच सहमतिको प्रयास भइरहेको थियो।
तर इसराइलले लेबननमा हिजबुल्लाहलाई लक्ष्य गरी आक्रमण गरेको एक्सियसले जनाएको छ।
त्यसले इरानसँगको सम्झौता झन्डै झन्डै बिफल हुने अवस्थामा पुगेको ट्रम्पले बताएका छन्।
'यसले परिस्थिति नै फेरबदल हुनेसम्मको खतरा उत्पन्न भयो। त्यसैले सहमति केही घन्टा ढिलो भयो,' ट्रम्पले एक्सियससँग भनेका छन्।
ट्रम्पले बेरूतमा आक्रमण भएको विषय आफूले सल्लाहकारमार्फत थाहा पाएको बताए। त्यसपछि आफू स्तब्ध भएको बताएका छन्।
'त्यो साह्रै नराम्रो भयो। मैले विश्वासै गर्न सकिनँ। हामी सम्झौतामा हस्ताक्षर गर्न लागेका बेला एक घण्टा अघि यस्तो भयो,' ट्रम्पले एक्सियससँग भनेका छन्।
ट्रम्पले पहिले हिजबुल्लाहले इसराइलमा हमला भएको स्वीकार गरे पनि त्यसबाट केही क्षति नभएका कारण प्रतिक्रिया दिन आवश्यक नरहने बताए।
'किन यस्तो आक्रमण गर्नुपर्यो? म निकै रिसाएको थिएँ। मैले उसलाई भनें—उसको निर्णय क्षमता ठीक छैन,' ट्रम्पले नेतन्याहूको नाम लिँदा अपशब्द प्रयोग गरेका थिए।
इसराइलले युद्धविराममा हिजबुल्लाह समावेश नभएको भनेर लगातार आक्रमण गर्दै आएको छ।
आइतबार बेरूतमा इसराइलले आक्रमण गरेपछि इरानले प्रतिशोधको चेतावनी दिएको छ।
इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले एक्समा लेख्दै 'कडा जवाफ आउँदैछ' चेतावनी दिएका छन्।
इरानी सरकारी समाचार संस्था इर्नाले मेजर जनरल अली अब्दोल्लाहीलाई उद्धृत गर्दै इरानी सेना ट्रिगरमा औँला राखेर तयारी अवस्थामा रहेको बताएका छन्।
'दुश्मनको सानो गल्ती पर्खिरहेका छौं। अलिकति मात्रै चुक भए बिर्सन नसकिने ढंगको अन्तिम पाठ सिकाइनेछ,' अब्दोल्लाहीको भनाइ उद्धृत गरिएको छ।
ट्रम्पले प्रस्तावित सम्झौता इसराइलकै हितमा हुने दाबी पनि गरेका छन्। इरानलाई आणविक हतियार नबनाउने ठाउँसम्म अमेरिकाले पुर्याउनु इसराइलका लागि फाइदाको कुरा रहेको उनले बताएका छन्।
दुई साता अघि पनि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका थिए। त्यतिबेला उनले नेतन्याहूलाई अपशब्द नै प्रयोग गरी गाली गरेका थिए।
त्यतिबेला पनि इसराइलले बेरूतमा भीषण हमलाको तयारी गरेको थियो।
'तिमी पागल हौ? के गरेको? म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। तिमीलाई मैले बचाइरहेको छु। सबैले तिमीलाई घृणा गर्छन्। त्यसकारण इसराइललाई पनि अहिले धेरैले मन पराउन छाडेका छन्,' ट्रम्पले नेतन्याहूलाई कड्किएर भनेका थिए।
अमेरिका र इरानबीच प्रारम्भिक समझदारीपत्रमा सहमति भएको छ। शुक्रबार जेनेभामा दुई देशबीच सम्झौतामा हस्ताक्षर हुने भनिएको छ।