नेकपा एमालेका नेता ईश्वर पोखरेलले जुनसुकै किसिमका बाधा व्यवधान तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार पार्टी पुनर्गठन हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले पुनर्गठन भइछाड्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका हुन्।
एमालेलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न आत्म समीक्षा र पुनर्गठनको उद्देश्य राखी प्रारम्भ गरिएको अभियानको पूर्ण सफलताको कामना गर्दछु।
'जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप, लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन्।
आफ्नो धर्मपत्नी मीराको स्वास्थ्य स्थितिमा गम्भीर समस्या देखापरेको र उपचारको सिलसिलामा केही समय विशेष व्यस्त बन्नपरेकाले उक्त अभियानमा आफू सरिक हुन नपाएको उनले बताएका छन्।
एमालेमा पुनर्गठन अभियान चलिरहेको छ। कार्यदल नै बनाएर तलबाट सुझाव पनि संकलन भइरहेको छ। जेठ ३० गते बागमती र असार २ गते कोसीमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश एवम् जिल्ला पदाधिकारीबाट सुझाव लिइएको छ।