अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता कार्यान्वयन गर्न चेतावनी दिएका छन्।
इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेपछि बुधबार फ्रान्समा पत्रकाहरूसँग कुराकानी गर्दै ट्रम्पले सम्झौता कार्यान्वयन नगरे फेरि सैन्य हमला गर्ने चेतावनी दिएका हुन्।
'यदि उनीहरूले सम्झौता उल्लंघन गरे भने हामी उनीहरूमाथि नराम्ररी बम बर्साउनेछौं। म त्यो चाहन्नँ। म उनीहरूले सम्झौताको सम्मान गरून् भन्ने चाहन्छु,' ट्रम्पले भने।
इरानको व्यवहार मन नपरेको खण्डमा पनि फेब्रुअरी २८ दोहोरिन सक्ने उनले बताए।
'यदि मलाई मन परेन वा उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी फेरि उनीहरूको टाउकोमाथि बम खसाल्न फर्किनेछौं,' उनले भने।
इरानलाई चेतावनी दिएपछि भने ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेर इरानले बुद्धिमानी काम गरेको पनि बताए।
हस्ताक्षरपश्चात आगामी ६० दिनभित्र हुने वार्ताले मध्यपूर्वमा शान्ति स्थापना गर्ने र तेलको मूल्य घटाउने आशा उनले बताए।
बुधबार अमेरिका र इरानले युद्ध अन्त्य गर्न हस्ताक्षर गरिएको अन्तरिम सम्झौताको पाठ सार्वजनिक गरेका थिए।
अमेरिकी र इरानी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले अंग्रेजी र फारसी भाषामा डिजिटल हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालयले सम्झौता बुधबारदेखि नै कार्यान्वयनमा आइसकेको जनाएको छ।
सम्झौताअनुसार सबै मोर्चामा युद्ध अन्त्य गर्ने, स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावत पूर्ण रूपमा पुनः सञ्चालन गर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने, प्रतिबन्ध खुकुलो बनाउने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने तथा युद्धपछिको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको लगानी कोष स्थापना गर्ने व्यवस्था गरिएको छ।
सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को निगरानीमा उच्च प्रशोधित युरेनियमको भण्डार व्यवस्थापन गर्न सहमत भएको छ।
युद्ध सुरु गर्दा इरानको क्षेप्यास्त्र क्षमता ध्वस्त पार्ने घोषणा गरेका ट्रम्पले भने अहिले आफ्नो पुरानो अडानबाट केही पछि हटेको संकेत दिएका छन्।
'यदि अन्य देशहरूसँग ब्यालेस्टिक मिसाइल छन् भने इरानसँग केही मिसाइल हुनु अनुचित होइन,' उनले भने।
यसअघि फेब्रुअरीमा ट्रम्पले इरानका सबै मिसाइल नष्ट गर्ने र उसको मिसाइल उद्योग पूर्ण रूपमा ध्वस्त पार्ने बताएका थिए।
इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले भने सम्झौताले सैन्य कारबाहीभन्दा धेरै ठूलो उपलब्धि दिलाएको दाबी गरेका छन्। सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले भने, 'हामीले सैन्य कारबाहीबाट हासिल गर्न खोजेका सबै कुरा वार्ताबाट धेरै गुणा बढी प्राप्त गर्यौं। दुवैको तुलना नै गर्न सकिँदैन,' उनले भने।
यद्यपि विश्लेषकहरूले सम्झौताले ट्रम्पले युद्ध सुरु गर्दा राखेका धेरै लक्ष्य पूरा गर्न नसकेको टिप्पणी गरेका छन्।
इरानको शासन व्यवस्था यथावत् छ, उच्च प्रशोधित युरेनियमको भण्डार देशभित्रै रहेको छ, ब्यालेस्टिक मिसाइल क्षमता कायम छ र लेबनानको हिजबुल्लाहजस्ता इरान समर्थित समूहप्रतिको समर्थन पनि अन्त्य भएको छैन।
जी–७ राष्ट्रका नेताहरूले भने सम्झौताको स्वागत गरेका छन्।
फ्रान्स, जर्मनी, बेलायत, जापान, इटाली, क्यानडा र अमेरिकाले संयुक्त वक्तव्य जारी गर्दै विशेषगरी लेबनानमा तत्काल युद्धविराम कायम गर्न आग्रह गरेका छन्।
यद्यपि सम्झौता भए पनि लेबनानमा झडप पूर्ण रूपमा रोकिएको छैन। लेबननको सञ्चारमाध्यमहरूले दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् भने सुरक्षा स्रोतहरूले हिजबुल्लाहले पनि इजरायली सेनामाथि ड्रोन आक्रमण गरेको जनाएका छन्। इसराइलले ती आक्रमणमा आफ्ना पाँच सैनिक घाइते भएको जनाएको छ।
यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पनि आलोचना गरेका छन्।
'नेतन्याहु राम्रो मान्छे हुन्, तर कहिलेकाहीँ धेरै उत्तेजित हुन्छन्। अलि नरम तरिकाले पनि काम गर्न सकिन्छ। हिजबुल्लाहसँग सम्बन्धित कोही भवनमा छिर्दैमा हरेक पटक भवन भत्काइहाल्नुपर्दैन,' उनले भने।