नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न पनि कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे।
'एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ। मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु। तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ र? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्,' उनले भने।
नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए।
उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गरे।
देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो,' उनले भने।
त्यसकारण जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्ने उनले बताए।
'त्यसैका निम्ति हामीले ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ भन्ने गरेका छौं,' उनले भने।