राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार स्थगित बन्दसत्र आज मंगलबार २ बजेबाट सुरू हुने भएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नाम फाइनल हुन र कार्ड वितरणमा ढिलाइ भएपछि सोमबार हुने भनिएको बन्द सत्र र निर्वाचन कार्यक्रम स्थगित भएको थियो।
पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म महाधिवेशन प्रतिनिधि संख्या ४३ सय नाघेको छ। उनीहरूलाई अस्थायी परिचय पत्र बाँड्न सुरू गरिएको छ।
पार्टीको संगठन विभाग प्रमुख बोधनारायण श्रेष्ठका अनुसार पहिले छापेको परिचय पत्रमा भएको क्युआर कोडमा समस्या देखिएपछि अस्थायी परिचयपत्र बाँड्न लागिएको हो। यसमा क्यूआर कोड हुने छैन।
आज २ बजे सुरू हुने बन्द सत्रका लागि यो प्रबन्ध गरिएको श्रेष्ठले जानकारी दिए।
'निर्वाचनका लागि क्युआर कोड सहितको नयाँ परिचय पत्र वितरण गरिने छ,' उनले भने।
यसबीच महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा अन्तिम रूजुको काम चलिरहेको छ। अझै पनि केही नाम तलमाथि परेको भन्दै दाबी-विरोधको फारम बोकेर आउने क्रम जारी छ। छुटेका नामबारे संगठन विभागमा उजुरी दिन भनिएको छ।
कतिपय प्रतिनिधिको नाम सोमबार सूचीमा भए पनि अहिले छुटेको छैन। त्यस्तै, कतिपयको सदस्यता नम्बर एउटै परेको छ।
यस्ता त्रुटिहरू सच्याउने क्रम चलिरहेको श्रेष्ठले बताए।
