सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले पछिल्लो समय भारतीय सीमा सुरक्षा बल एसएसबीले पश्चिम नवलपरासीस्थित नेपालतर्फको भूमि सुस्तामा प्रवेश गरी स्थानीयलाई आतङ्कित गराएको भन्दै त्यसप्रति सरकारलाई ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमै सीमाको विषयमा दिएको अभिव्यक्ति पश्चात् जेठ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको भूमिमा प्रवेश गरी स्थानीयलाई आतङ्कित बनाएकोप्रति निन्दा गर्दै त्यसप्रति सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
नेपाली भूमिको रक्षाका लागि वर्षौंदेखि भारतीय सीमा सुरक्षा बलसँग लड्दै आएका सुस्तावासीका अगाडि सीमा सुरक्षा मात्र नभई नागरिकता, शिक्षा, स्वास्थ्य लगायतका समस्या रहेको भन्दै ती समस्या समाधानको पहलका लागि सरकारलाई आग्रह गरेका हुन्।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले विगत सात दशकदेखि सुस्तावासीले सीमा समस्या तथा नागरिकताको समस्या भोग्दै आएको उल्लेख गर्दै पछिल्लो राजनीतिक परिवर्तन सँगै नयाँ सरकार गठनपछि आफूहरूका समस्याको कूटनीतिक तथा राजनीतिक समाधान हुने अपेक्षा गरे पनि पछिल्ला घटनाक्रमले आफूहरूमा पुरानै चिन्ता र असुरक्षा सिर्जना भएको बताए।
उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नभएको भन्दै सुस्तामाथि भारतीय सीमा सुरक्षा बलले देखाउँदै आएको हस्तक्षेप तत्काल रोक्न प्रभावकारी र कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे।
उनले वर्षौंदेखि नेपाली भूमिको रक्षा गर्दै आएका अधिकांश सुस्तावासी नागरिकताविहीन रहेकोले तत्काल नेपाली नागरिकता उपलब्ध गराइनुका साथै भोग चलन गर्दै आएको जग्गाको नाप जाँच गरी लालपुर्जा वितरणको व्यवस्था गर्न आग्रह गरे।
सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमले सीमा सम्बन्धी संवेदनशील विषयमा आधिकारिक अभिलेख र तथ्य अध्ययन नगरी सार्वजनिक अभिव्यक्ति नदिन सरकारका जिम्मेवार पदाधिकारीलाई समेत आग्रह गरे।
संसदमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिपछि नारायणी नदीको कटान रोक्न बनाइरहेको तटबन्ध निर्माणको काममा भारतीय पक्षबाट अवरोध भएको भन्दै उक्त कार्यलाई तत्काल अगाडि बढाउन आग्रह गरे।
भारतीय वन विभागले आफ्नो क्षेत्राधिकार भन्दै नारायणी नदीतर्फबाट तार बार निर्माण कार्य अघि बढाइ रहेको भए पनि त्यसबारे नेपाल सरकारलाई आवश्यक जानकारी नगराइएको गौतमले बताए।
सरकारी अभिलेखअनुसार सुस्ता क्षेत्रमा करिब ४० हजार ९ सय ८० हेक्टर नेपाली भूमि मध्ये हाल नेपालीहरूले करिब ७ हजार हेक्टर क्षेत्र मात्र भोग चलन गर्दै आएका छन्।
अन्य जमिन भारतीय सुरक्षाकर्मी एसएसबीको अतिक्रमणपछि विवादित भन्दै भोग चलनमा रोक लगाइएको छ।
स्थानीयले सुस्तामा उत्पन्न सीमा सम्बन्धी समस्या समाधानका लागि २०६३ सालदेखि पटक पटक सरकारलाई आग्रह गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन।
गौतमले २०६३ साल यताका हरेक सरकार र राजनीतिक दलका नेतृत्वलाई सुस्ताको यथार्थ अवस्था जानकारी गराइएको र संयुक्त राष्ट्रसङ्घमा समेत सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको बताए।