सभामुख डोलप्रसाद अर्याल र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ।
सभापति लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर अर्यालसँग भेटवार्ता गरेका हुन्।
'उहाँ फुत्त आउनुभयो। २० मिनेटजति उहाँहरूबीच एक्लाएक्लै कुराकानी भयो,' सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सेतोपाटीसँग भनिन्, 'छलफलको विषयबारे हामीलाई जानकारी छैन।'
सभामुख अर्यालको सिफारिसमा जापानका लागि राजदूत नियुक्त भएका जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन सकेको छैन।
संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत छ। समितिले बहुमतबाट नाम अनुमोदन गर्न सक्छ। तर रास्वपाभित्रै थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा दुई धार छन्।
सुनुवाइ समितिको बैठक आउँदो कात्तिक १६ गते दिउँसो ३ बजे डाकिएको छ।
त्यस्तै, रास्वपाका सांसद खगेन्द्र सुनारबारे पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको छ। एक महिलालाई अपशब्द प्रयोग गरी गालीगलौज गर्दै धम्की दिएको विषय जनआस्था पत्रिकाले सार्वजनिक गरेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको थियो।
सुनारले भने उक्त अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गर्दै आएका छन्।
रास्वपाले निर्वाचन घोषणापत्रमा समेत सांसदहरूको हकमा 'राइट टू रिकल' लागू गर्ने भन्दै आएको छ।
यसअघि नेपाल प्रहरीका महानिरीक्षकसहित उच्चपदस्थ अधिकारीहरूले सभामुखलाई भेटेरै सुनारको शैलीबारे आपत्ति जनाएका थिए।
त्यति बेला सभामुख अर्यालले प्रहरी अधिकारीहरूलाई आफूले सांसदहरूलाई नियमावलीको व्यवस्था सम्झाउने बताएका थिए।
दुई जनाको भेटमा सुनारबारे छलफल भए/नभएको स्पष्ट छैन।
रास्वपाले सांसद सुनारलाई कारबाही गरे उनलाई पदबाट हटाउने कि नहटाउने निर्णयमा सभामुखको भूमिका निर्णायक हुन्छ।
मंगलबार प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटमा समेत खगेन्द्र सुनार र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको विषयमा छलफल भएको स्रोतले सेतोपाटीलाई जानकारी दिएको थियो।