नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान जुनसुकै जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्।
असार १५ अवसरमा नेता तथा कार्यकर्ताहरूलाई घरमा निम्त्याएर नेता कोइरालाले पार्टी एकताबद्ध बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
‘म सधैं सिंगो कांग्रेसको पक्षमा छु, कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प छैन।’
उनले पार्टीमा अहिले मतभेदहरू रहेको भन्दै त्यसलाई चिर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रममा महामन्त्री गुरूराज घिमिरे, संसदीय दल नेता भीष्मराज आङ्देम्बे, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, शंकर भण्डारी, मोहन बस्नेत, दीपक खड्का, दीपक गिरी, रमेश लेखक, रामहरि खतिवडालगायत पनि उपस्थित थिए।
गत पुसमा विशेष महाधिवेशन हुँदा शशांक पनि सहभागी थिएनन्। विशेष महाधिवेशनले पार्टीमा फुट ल्याएको अभिव्यक्तिसमेत उनले दिने गरेका छन्।