नेपाली कांग्रेसको आन्तरिक किचलोबीच नेपाल फर्किने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २९ गते आफूपक्षीय नेताहरूले डाकेको राष्ट्रिय भेलामा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने चासोको विषय बनेको छ।
देउवाले बिपी स्मृति दिवसका अवसरमा साउन ६ गते विज्ञप्ति निकालेर 'नेपाली भूमिमा पुन: पाइला टेक्दै छु' भनेका छन्। यसलाई प्रस्ट पार्दै देउवाका स्वकीय सचिव भानु देउवाले उनी साउनभित्रै स्वदेश फर्कने तयारीमा रहेको बताएका छन्।
त्यसैबीच आफू पक्षीय नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलामा देउवा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई चासोका साथ हेरिएको हो।
हामीले यसबारे संस्थापन र संस्थापन इतर पक्षीय नेताहरूसँग कुराकानी गरेका छौं।
१५औं महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खुलेपछि प्रचार संयोजक रहेका नेता मीनबहादुर विश्वकर्माले पूर्वसभापति देउवा राष्ट्रिय भेलाअघि नै नेपाल आइसक्ने भए पनि कार्यक्रममा सहभागी हुने कि नहुने तय नभइसकेको बताए।
'शेरबहादुर दाइ राष्ट्रिय भेलाअघि नै स्वदेश आइसक्नुहुन्छ, साउन २८ गतेसम्म आइसक्छु भनेर दाइले अख्तियार लगायतलाई पत्र नै लेखिसक्नुभएको छ,' नेता विश्वकर्माले सेतोपाटीसँग भने, 'चाँडै नेपाली भूमि टेक्दैछु भनेर बिपी स्मृतिमा जारी गरिएको विज्ञप्तिमा पनि उल्लेख गर्नुभएको छ। तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुनुहुन्छ कि हुनुहुन्न भन्ने अहिले नै निश्चित भइसकेको छैन। यो कुरा उहाँ आइसकेपछि नै थाहा हुने कुरा हो।'
उनले अगाडि भने, 'विगतमा किसुजी, गणेशमानजीजस्तै उहाँ पनि पार्टीको फरक फरक भेलामा सहभागी हुनुहुन्न जस्तो मलाई लाग्छ।'
देउवा पार्टीभित्र 'सर्वमान्य' नेताका रूपमा रहन सक्ने संकेत गर्दै विश्वकर्माले भने, 'उहाँ अभिभावकीय भूमिकामै बस्नुहुन्छ।'
'यो भेलाले राजनीतिक कार्यदिशा तय गर्छ, त्यो भनेको नयाँ शक्ति निर्माण हो,' उनले भने, 'राजनीतिक, सांगठनिक, समसामयिक, राजनीतिक, वैधानिक, कानुनी प्रस्ताव लगायत अरू आवश्यक प्रस्ताव तयार गरी राष्ट्रिय भेलामा पेस गरी छलफल पनि हुन्छ।'
उनका अनुसार राष्ट्रिय भेलामा सबै प्रदेशका निश्चित तहका नेताहरू सहभागी हुनेछन्।
'पालिका, क्षेत्र र जिल्लाका साथीहरू, भ्रातृ तथा शुभेच्छुक संघ-संस्थाका साथीहरू पनि सहभागी हुनु हुनेछ,' उनले भने, '१४औं महाधिवेशनका प्रतिनिधि र महासमिति सदस्य पनि उपस्थित हुनुहुनेछ, ३ हजारभन्दा बढी प्रतिनिधि भेला हुने अपेक्षा छ।'
१४औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले भने संस्थापनइतर पक्षले राष्ट्रिय भेला गर्न लागेकोबारे आफूलाई जानकारी नरहेको बताइन्।
'उहाँहरूको कार्यक्रमबारे पार्टीलाई जानकारी छैन,' उनले भनिन्, 'त्यस्तो कार्यक्रम रहेछ भने पनि त्यसमा पूर्वसभापति शेरबहादुर दाइ जानुहुन्छ भन्ने हामीलाई लाग्दैन।'
देउवाले सभापति छँदै आफू अभिभावकीय रूपमा बस्ने बताएको उल्लेख गर्दै भुसालले आगामी दिनमा उनी त्यही भूमिकामा रहने अपेक्षा गरेको बताइन्।
'म अब उठ्ने होइन, जसले प्रतिस्पर्धामा जित्छ उसैले पार्टीको नेतृत्व लिनुहोस् भन्ने उहाँको भनाइ रहन्थ्यो,' विगतका कुरा सम्झिँदै उनले भनिन्, 'त्यस कारण विधि र विधान अनुसार असोजमा १५औं महाधिवेशनमा हुँदैछ। उहाँले विधि, विधान र प्रक्रियालाई नै समर्थन गर्नुहोला।'
कांग्रेसलाई एकताबद्ध बनाउने मनसाय पूर्वसभापतिको रहनेमा आफूहरू विश्वस्त रहेको भुसालको भनाइ छ।
'कांग्रेस एकताबद्ध बनाउने उहाँको हिजोको मनसाय थियो, उहाँ स्वदेश आइसकेपछि पनि त्योभन्दा बाहिर जानुहुन्न भन्ने विश्वास छ,' उनले भनिन्।
देउवापक्षीय नेताहरूले भने विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४औं महाधिवेशनबाट आएको कार्यसमिति मिसाएर गगन थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्नेजस्ता ५ बुँदे माग राखेका छन्।
छोटो समयभित्र सभापति थापाले पार्टीलाई एक नगराए राष्ट्रिय भेला हुँदै नयाँ पार्टी गठनतर्फ मोडिनेमा संस्थापन इतर नेताहरू देखिन्छन्।
बुधबार बिपी स्मृति दिवसको अवसरमा प्रकाशमान सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा बोलेका अधिकांश नेताले राष्ट्रिय एकता र मेलमिलापको नीति सम्झिएका थिए। बिपी २०३३ सालमा त्यही नीतिसहित स्वदेश फर्केका थिए।
पहिले कांग्रेसभित्र आन्तरिक एकता र त्यसपछि परम्परागतसहित सबै शक्तिहरूबीच आपसी मेलमिलापमा पार्टीले जोड दिनुपर्नेमा संस्थापन इतर पक्षका नेताहरूको जोड छ। यसलाई कतिपयले संस्थापन इतर पक्षले 'धर्मको राजनीति' गर्न खोजेको समेत चर्चा गरेका छन्।
भदौ २४ को जेनजी आन्दोलन बेला बुढानिलकण्ठ निवास छिरेर प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि निर्घात कुटपिट गरेका थिए। त्यसपछि देउवा दम्पतीले विदेशका अस्पतालमा उपचार गराउँदै आएका छन्।
पछिल्लो पटक चुनावको मुखमा फागुन १४ गते उनीहरू सिंगापुर उडेका थिए। त्यसयता ५ महिनादेखि विदेशमै छन्। सिंगापुरमा उपचार गरी थप उपचारका लागि हङहङ गएका थिए। अहिले पनि त्यहीँ छन्।
स्वदेश फर्कनुअघि देउवाले बिपी स्मृतिको अवसर पारेर विज्ञप्ति जारी गर्दै केही कुरा राखेका छन्, जसको निचोड छ- स्वदेश फर्केपछि आफूमाथि राजनीतिक प्रतिशोध नहोस्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक पक्राउ परी छुटेका थिए। यसलाई उनीहरूले राजनीतिक प्रतिशोधका रूपमा लिएका छन्।
देउवामाथि पनि पक्राउ पुर्जी जारी भएको थियो। सम्पत्ति शुद्धीकरण विभागले जिल्ला अदालत काठमाडौंबाट गत चैत २५ गते देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसविरूद्ध देउवा सर्वोच्च अदालत गएका थिए।
जेठ ११ गते सर्वोच्चले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। कानुनी व्यवस्थाले निर्दिष्ट गरेको विधि तथा ढाँचा अनुरूप पक्राउ पुर्जी लिएको नदेखिएको भन्दै सर्वोच्चले देउवा दम्पतीलाई पक्राउ नगर्न भनेको थियो।
जेनजी आन्दोलन क्रममा बुढानिलकण्ठ निवासमा आगजनी हुँदा जलेका नोटका टुक्रा भेटिएको भिडिओ सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले निरीक्षण गरी जलेका नोटका नमूना समेत संकलन गरेको थियो। त्यसै आधारमा देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिएको थियो।
पूर्वप्रधानमन्त्री देउवा उपचारका सिलसिलामा विदेशमा रहँदा यता कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि बढ्दो छ। देउवा पक्षको सहभागिताबिनै गत पुस मसान्तमा विशेष महाधिवेशन भई गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो।
विशेष महाधिवेशनविरूद्ध देउवा र तत्कालीन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च गए पनि रिट खारेज भई विशेष महाधिवेशनले मान्यता पाएको थियो। तैपनि कांग्रेसभित्र किचलो उस्तै छ।
विशेष महाधिवेशनको कानुनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरूबीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ्दो छ। बिपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्लाबेग्लै कार्यक्रम गरेका थिए।
देउवाले बिपी स्मृतिमा विज्ञप्ति निकाले पनि पार्टीभित्रको आन्तरिक विषयमा केही उल्लेख गरेका छैनन्। शेरबहादुर देउवा, नेपाली कांग्रेस भनेर मात्र उनले विज्ञप्ति जारी गरेका छन्, पूर्वसभापति भनेर पनि लेखेका छैनन्।
देउवाले गत असोज २८ गते सानेपा पुगेर केन्द्रीय समिति बैठक सुरू गर्दै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि देउवाको अनुपस्थितिमा खड्काले नै यो समूहको नेतृत्व गर्दै आएका छन्।
देउवा विदेशमा रहेका बेला देउवा समूहकै नामबाट भेला तथा बैठक भइरहेका छन्। जसमा खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायत नेताहरू पनि सँगै छन्। बेलाबखत नेता शेखर कोइराला पनि मिसिन्छन्।