नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
तीन दशकभन्दा बढी समय गद्दीमा रहेर आफ्ना लोकप्रिय र खुला स्वभावका बुबाको छायाबाट बाहिर निस्कँदै एक सुधारकको रूपमा पहिचान बनाएका नर्वेली राजाको निधन भएको समाचार संस्था रोएटर्सले जनाएको छ।
'राजा हेरल्डको शुक्रबार अगस्ट २८ स्थानीय समय अनुसार बिहान ०६:३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भयो,' राजदरबारले आफ्नो वेबसाइटमा भनेको छ।
युरोपका सबैभन्दा वृद्ध जीवित राजा हेरल्डलाई अगस्ट १७ मा अस्पताल भर्ना गरिएको थियो। उनको रगतमा बेक्टेरियल सङ्क्रमणको उपचार भइरहेको राजदरबारले जनाएको थियो।
सन् २०२४ मा मलेसियामा बिदा मनाउने क्रममा सङ्क्रमण भएपछि उनलाई त्यहाँको अस्पतालमा भर्ना गरी अस्थायी पेसमेकर राखिएको थियो। त्यसपछि उनलाई नर्वेली सेनाको विमानमार्फत स्वदेश फर्काइएर स्थायी पेसमेकर राखिएको थियो।
सन् १९९१ देखि नर्वेका औपचारिक राष्ट्रप्रमुख रहँदै आएका हेरल्डले सोही वर्ष आफू सहभागी हुने औपचारिक कार्यक्रमहरूको सङ्ख्या घटाउने तर गद्दी भने नत्याग्ने स्पष्ट पारेका थिए। राजाको रूपमा आफूले लिएको शपथ जीवनभरका लागि भएको उनले जोड दिएका थिए।
ब्रिटेनकी महारानी भिक्टोरियाका पनाति, हेरल्ड सन् १९९१ मा गद्दीमा बसेका थिए। उनले बिस्तारै आधुनिक सुधारहरू भित्र्याउँदै मुख्यतया राष्ट्रिय स्वाधीनताको प्रतीकका रूपमा हेरिने औपचारिक पदलाई २१ औँ शताब्दी अनुकूल बनाएका थिए।
यी लोकप्रिय राजाले शोकको समयमा देशलाई सान्त्वना दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सन् २०११ मा उग्र-दक्षिणपन्थी, इस्लाम विरोधी कट्टरपन्थी एन्डर्स बेहरिङ ब्रेभिकले ओस्लो र उतोया टापुमा ७७ जनाको हत्या गर्दा, राजाले टेलिभिजन मार्फत ओझस्वी सम्बोधन गर्दै देशवासीलाई सान्त्वना दिएका थिए। भावुक हुँदै काँपेको स्वरमा उनले भनेका थिए, "डरभन्दा स्वतन्त्रता बलियो हुन्छ।"
बाढी, आँधीबेहरी र अन्य विपद्पछि, उनी गमबुट र पुरानो ज्याकेट लगाएर घर वा आफ्ना प्रियजन गुमाएका मानिसहरूलाई भेट्न घटनास्थलमै पुग्ने गर्दथे।