अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानडा र अमेरिकामा रहेको ओन्टारियो तालको (लेक ओन्टारियो) नाम बदलेर अमेरिका ताल (लेक अमेरिका राखेका छन्।
पछिल्ला दिनमा उत्तरी छिमेकी क्यानडासँग व्यापार युद्ध चर्काएका ट्रम्पले आधा भन्दा बढी भाग क्यानडामा पर्ने सो तालको नाम परिवर्तन गरेका हुन्।
उत्तर अमेरिकाका पाँच ठूला तालहरूमध्ये एक ओन्टारियो ताल सम्बन्धी ट्रम्पको कार्यकारी आदेश अमेरिकी संघीय प्रयोगमा मात्र लागू हुन्छ।
यसले क्यानडा, अन्तर्राष्ट्रिय निकाय वा अन्य संस्थाहरूले ताललाई के भन्छन् भन्ने कुराको निर्धारण भने गर्दैन।
'हामी तत्काल लागू हुने गरी लेक ओन्टारियोको नाम बदलेर लेक अमेरिका राख्दैछौं,' ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने, 'तालको नाम परिवर्तन गरेर 'लेक अफ अमेरिका' राख्ने कुरा वास्तवमा मैले लामो समयदेखि सोचिरहेको विषय थियो।'
ट्रम्पको भनाइ सार्वजनिक भएको केही घन्टामै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सो ताललाई लेक ओन्टारियो नामले नै चिनिने बताएका छन्।
'यो नाम ४०० वर्षभन्दा पुरानो हो, जुन क्यानडाको महासङ्घ र संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणा दुवैभन्दा अघिको हो,' सामाजिक संजाल एक्समा कार्नीले लेखेका छन्।
त्यस्तै न्युयोर्क राज्यकी डेमोक्र्याटिक गभर्नर क्याथी होकलले पनि ४०० वर्षभन्दा पुरानो यो नाम आफूले नबदल्ने बताएकी छिन्। न्यु योर्क राज्य अमेरिका तर्फबाट यो तालको सीमामा पर्दछ।
मेक्सिकोलाई गाली गरेर एक दशक अघि राजनीति शुरू गरेका ट्रम्पले दोस्रो कार्यकालको सुरूमै 'गल्फ अफ मेक्सिको'लाई 'गल्फ अफ अमेरिका' नामाकरण गरेका थिए।