भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरू भएको छ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरू भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलकाअनुसार बैठकमा विपद्पछिको पुननिर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठनको प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढी पहिरोलगतै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।
उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ।
सोहीअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।