नेपाली कांग्रेसले भोटेकोशी विपदबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन जनशक्ति तयार गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार यससम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।
प्रशिक्षणमा सहभागीहरूले विपदबाट विस्थापित भएका परिवार रहेका आश्रय स्थलमा पुगेर मनोसामाजिक परामर्श गर्ने कांग्रेसले जनाएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी भएका थिए।
प्रशिक्षणका क्रममा सहभागीहरूले बाढी प्रभावितहरूले भोगेका विभिन्न किसिमका मानसिक तनाव र समस्याहरूबारे छलफल गरेका थिए।
खासगरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरू यस प्राकृतिक विपत्तिबाट मानसिक रूपमा सबैभन्दा बढी प्रभावित र जोखिममा परेको उनीहरूको अनुभव रहेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रशिक्षणमा प्रभाकर पोखरेल, रविन बस्नेत, मनोविदहरू कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए।