प्रतिपक्षी दलहरूको बैठक बिहीबार बसेको छ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा विशेषगरी दुई/तीन विषयमा छलफल भएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकले भोटेकोशी-त्रिशूलीमा आएको बाढी र त्यसपछि खोजी तथा उद्धार र राहत तथा पुनर्स्थापनामा सरकारको काम कारबाहीको समीक्षा गरेको छ।
सँगै प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने विषय, यसअघिका सर्वदलीय बैठकका निर्णय कार्यन्वयनको विषयमा छलफल भएको छ।
थापाका अनुसार यसअघि सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा गर्नुपर्ने कामबारे गरेका नौबुँदे प्रतिबद्धता कार्यान्वयनको अवस्था पनि बैठकमा समीक्षा गरिएको थियो। कुन काम पूरा भए, कुन बाँकी छन् र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको उनले बताइन्।
‘यसअघि सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरूको बारेमा प्रतिबद्धता जनाएका ९ वटा बुँदाहरूको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने कुरामा पनि छलफल भयो। के-के हुन बाँकी छ र आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भयो,’ थापाले भनिन्।
विपक्षी दलहरूले सरकारले खोज, उद्धार र राहतको काम गरिरहेको भए पनि अन्य पक्षसँग थप समन्वय र सहकार्य गरेर कामलाई प्रभावकारी बनाउन सक्ने निष्कर्ष निकालेका छन्।
विशेषगरी राहत वितरणको सुरुवाती चरणमा कमजोरी भएको भन्दै वास्तविक पीडितले समयमा राहत पाउन नसकेको विषय बैठकमा उठेको थापाले बताइन्।
‘सरकारले खोज, राहत, उद्धारको काम त गरिरहेकै छ। तर पनि सरकारले अन्य सबैसँग समेत समन्वय र सहकार्य गरेर अझ प्रभावकारी काम गर्न सक्थ्यो। राहत वितरणको विषयमा सुरुवाती दिनमा केही कमजोरी भयो। वास्तविक पीडितले राहत पाउन सकेको अवस्था थिएन,’ उनले भनिन्।
अब राहत वितरणलाई प्रभावकारी बनाउँदै सरकार पुनर्स्थापनाको काममा केन्द्रित हुनुपर्नेमा पनि विपक्षी दलहरूको जोड छ।
बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा पुनर्स्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।
बैठकमा विपद् सामना गर्न विशेष संसदीय समिति गठनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो। सत्तारुढ दलका नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेका बेला विपक्षी दलहरूले यसको प्रक्रियाबारे छलफल गरेका हुन्।
एमालेकी सचिव पद्मा अर्यालले विपद्को समय भएकाले राजनीतिक विषयमा छलफल नभएको बताइन्।
‘हामीले यति ठूलो विपत्तिको सामना गरिरहेको बेला आफ्ना राजनीतिक स्वार्थहरू एकातिर पन्छ्याएर हामी सबै एकाकार भएर विपत्तिको सामना गर्ने, विपद्मा परेका नागरिकलाई राहत, उद्धारका काममा लाग्ने कुरा भइ नै हाल्यो,’ अर्यालले भनिन्।
विपक्षी दलहरू सरकारले गरिरहेको सकारात्मक काममा साथ दिन तयार रहेको उनले बताइन्। विपद् प्रतिकार्यको पहिलो चरणका काम सम्पन्न भएपछि मात्रै दलहरूले आफ्ना राजनीतिक एजेन्डा अघि बढाउने विषयमा बैठकमा छलफल भएको उनले बताइन्।
‘सरकारले गरिरहेका हरेक कदममा साथमै रहेका पनि छौँ। विपद्को पहिलो चरणको कामहरू सकिसकेपछि हामी हाम्रा राजनीतिक एजेन्डाहरू पनि अगाडि बढाउँछौँ। आजको दिनमा हाम्रो राजनीतिक एजेन्डा गौण छ,’ अर्यालले भनिन्।