उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिनुका पछाडि लामो समयदेखि सुल्झिन नसकेको ग्यास अभावले चुलिएको जनअसन्तुष्टि र विवाद मुख्य कारण देखिएको छ।
बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिनुअघि आफू निकटहरूसँग कुरा गर्दै मन्त्री यादवले कर्मचारी र उद्योगीको असहयोगका कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको बताएकी थिइन्।
'कर्मचारी र व्यवसायी मिले। मलाई काम गर्न दिएनन्। ग्यासको कृत्रिम अभाव खडा गरियो। ग्यास आइरहेको छ, हामीसँग छ तर जनताले पाइरहेका छैनन्। मलाई असफल बनाउन खोजियो। यस्तोमा ग्यास अभाव टार्न नसकेपछि म पदमा बसिरहन उपयुक्त हुँदैन भनेर राजीनामा दिएँ,' उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'मलाई कसैको दबाब छैन। संसदीय समितिमा मैले बोलेको विषय पनि यथार्थ नै हो।'
मन्त्री यादवको राजीनामा त्यति बेला आएको हो, जति बेला देशभरि ग्यास अभाव चर्किएको छ। ग्यास नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आइरहेका छन्। समस्या समाधान गर्न नसकेको भन्दै सरकार र मन्त्रालयको चौतर्फी आलोचना पनि भइरहेको छ।
ग्यास अभावकै विषयमा बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले कर्मचारी र उद्योगीबीच मिलेमतो रहेको आरोप लगाएकी थिइन्।
उनले उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा आफू सबैको 'आँखाको तगारो' बनेको बताएकी थिइन्।
बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ थियो।
ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई कडा दबाब दिनुपर्ने धारणा राख्दै उनले भनेकी थिइन्, 'समितिले जे निर्देशन दिन्छ, म मान्छु। तर उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन। मेरो अन्तिम निचोड यही हो।'
मन्त्री यादवले ग्यास उद्योगको संख्या पनि आवश्यकताभन्दा धेरै रहेको दाबी गरेकी थिइन्। उनका अनुसार ग्यास उद्योगको संख्या घटाउनुपर्ने अवस्था छ।
'दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुइटा। अरू सबै खारेज गर्नुपर्छ,' उनले भनेकी थिइन्, 'मैले पनि हात जोडेरै सबैलाई भनेको छु, ग्यास आपूर्ति सहज बनाइदिनुस्, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुस्। हात जोडेर नहुँदो रहेछ।'
विधेयक निर्माणमा समेत उद्योगीको प्रभाव रहेको दाबी गर्दै उनले कर्मचारीलाई परिवर्तन गर्न निर्देशन दिँदासमेत नमानेको बताएकी थिइन्।
'तपाईं भन्नुस् यो चेन्ज गरेर ल्याउनुस्, कर्मचारी भन्छ– हुँदैन, मिल्दैन हजुर। तपाईं १० चोटि भन्नुस्, मिल्दैन भनेर भन्छ। के गरौं? यस्तो बलियो सरकारमा त यो हाल छ कर्मचारीहरूको,' उनले भनिन्।
उनले यस्तो धारणा राखिरहेकै बैठकमा उनको राजीनामासमेत मागिएको थियो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदनकुमार भण्डारीले ग्यास आपूर्ति सहज बनाउन नसक्ने भए राजीनामा दिन मन्त्री यादवलाई भनेका थिए।
'दर्जनौं मान्छेले ग्यास भएन भनेका छन्। अपांग, अशक्तले भनेका छन्, गरिबले भनेका छन्, मजदुरले भनेका छन्, विद्यार्थीले भनेका छन्, कर्मचारीले भनेका छन्,' उनले भनेका थिए, 'यस्तो लाजमर्दो स्थिति हुन्छ? सक्नुहुन्न भने राजीनामा दिने।'
सरकार र मन्त्रालयले समस्या समाधानका लागि गरेको प्रयासको विवरणभन्दा त्यसको परिणाम महत्वपूर्ण हुने उनको भनाइ थियो।
'तपाईं १२ बजे खट्नुभयो, १० बजे खट्नुभयो, कति बजे खट्नुभयो मतलब छैन,' उनले भनेका थिए, 'रिजल्ट के हो? जनताले ग्यास पाए कि पाएनन्? मूल्य बढ्यो कि बढेन? त्यो हो नि त।'
खाना पकाउने ग्यास अभाव सुरू भएको लामो समय भइसकेको छ। ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठ्न थालेपछि मन्त्री यादव आफैले पनि त्यसमा चासो दिएकी थिइन्।
ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका एक सेवाग्राहीलाई मन्त्री यादवले फोन नै गरेकी थिइन्। उनले सम्बन्धित सेवाग्राहीलाई एउटा निश्चित डिपोमा गएर ग्यास लिन सुझाव दिएको विषयसमेत बाहिरिएको थियो।
ग्यासको समस्या समाधान गर्न उद्योग मन्त्रालयले हटलाइन नम्बर समेत सार्वजनिक गरेको थियो। तर हटलाइन, अनुगमन र अन्य प्रयासका बाबजुद ग्यास अभावको समस्या कायमै रह्यो।
गत साउनमा ग्यास अभावको समस्या झन् बल्झिँदै गएपछि मन्त्रालयले विभिन्न ठाउँमा अनुगमनसमेत बढाएको थियो।
त्यस क्रममा मन्त्री यादवको सचिवालयले काठमाडौंको र्याडिसन होटलमा अनुगमन गरी ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएको विवरण सार्वजनिक गरेको थियो।
मन्त्रालयका अनुसार पाँचतारे र्याडिसन होटलमा १८४ वटा ग्यास सिलिन्डर भेटिएका थिए। उद्योगमन्त्री गौरी यादवको सचिवालयले दिएको जानकारी अनुसार तीमध्ये नेपाल ग्यासका ११७ र एसटिसी ग्यासका ६७ सिलिन्डर थिए।
होटलका चुह्लोमा भने करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको बताइएको थियो।
त्यति बेला होटलहरूमा छापा मारेको भन्दै उद्योगमन्त्रीको विरोध भएको थियो।
ग्यास अभावकै बीच जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता हेरेर उपभोक्तालाई ग्यास वितरण गर्ने व्यवस्था पनि गरिएको थियो।
तर यी प्रयासले पनि अभावको समस्या पूर्ण रूपमा समाधान हुन सकेन।
अन्ततः ग्यास अभावलाई लिएर सरकारमाथि बढ्दो दबाब, संसदीय समितिमा मन्त्री यादवकै विवादास्पद अभिव्यक्ति र कर्मचारी तथा उद्योगीमाथि लगाएको आरोपबीच उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन्।