काठमाडौं उपत्यकामा चुलिँदै गएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न सरकारलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष बैठक गर्नेदेखि विद्युतीय चुलोमा विशेष छुट दिनेसम्मका उपाय सुझाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यासको नियमित आपूर्ति भइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको भन्दै सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यवसायीलाई एउटै ठाउँमा राखेर ‘लाइभ’ बैठक गर्नुपर्ने बताए।
त्यसबाट ग्यास अभावको वास्तविक समस्या कहाँ छ भन्ने कुरा जनताले समेत थाहा पाउने उनको भनाइ छ।
‘मन्त्रालय, त्यसपछि आयल निगम, उद्योगी र व्यापारीहरूलाई राखेर एउटा लाइभ बैठक गरौँ। समस्या कहाँ छ, सम्पूर्ण जनताले थाहा पाऊन्,’ उनले भने।
भोटेकोशीमा आएको बाढीपछि कृष्णभीरमा सडक पहिरिँदा मुख्य सडक अवरुद्ध भएको छ।
यसअघि नै ग्यासको आपूर्तिमा समस्या रहेको काठमाडौं उपत्यकामा सडक अवरुद्ध भएपछि अभाव थप चर्किएको छ।
श्रेष्ठले अहिले ग्यास ढुवानी गरिरहेका सवारीको संख्या बढाउन व्यवसायीलाई आग्रह गरे।
‘अहिले २० वटा गाडीले ढुवानी गरिरहेका छन् भने १०० वटा गाडीले ढुवानी गरौं, यो समस्या तुरुन्तै समाधान हुन्छ,’ उनले भने। अगाडिका लागि राखिएको ग्यासको स्टकमा समेत समस्या हुन नदिन उनले आग्रह गरे।
श्रेष्ठले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरे।
उपभोक्ताले ओभरस्टक गर्दा बजारमा अभाव थप बढ्ने उनको भनाइ छ।
कृष्णभीरको पहिरो हटाएर सडक खुलेपछि ग्यासको आपूर्ति पुनः नियमित हुने भएकाले अहिले सबै पक्षले संयम अपनाउनुपर्ने उनले बताए।
‘उपभोक्ताहरूले पनि ओभरस्टक नगरौँ। यो ओभरस्टकले पनि समस्या बनाएको छ। कृष्णभीरको पहिरोमा अहिले काम भइराखेको छ। यो सडक खुल्नेबित्तिकै ग्यासको आपूर्ति फेरि नियमित हुन्छ,’ उनले भने।
ग्यासको तत्कालीन अभावसँगै दीर्घकालीन रूपमा ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुलो प्रयोग बढाउनुपर्ने श्रेष्ठको सुझाव छ। सरकारले विद्युतीय चुलो विशेष छुटमा उपलब्ध गराउने योजना ल्याउन सके ग्यासको निर्भरता घटाउन सकिने उनले बताए।
त्यस्तै, सरकारले ग्यासको समस्या समाधान गर्न गठन गरेको कमान्ड सेन्टरलाई तीनवटा छुट्टाछुट्टै क्षेत्रको समस्यामा केन्द्रित गर्नुपर्ने उनले बताए।
उनका अनुसार काठमाडौं उपत्यकाको ग्यास आपूर्तिका लागि छुट्टै सेल र सम्पर्क नम्बर तोक्नुपर्छ, जसमा उपभोक्ताले सहज रूपमा सम्पर्क गर्न र गुनासो राख्न सक्ने व्यवस्था हुनुपर्छ।
बाढीपहिरोबाट प्रभावित जिल्लाका लागि पनि छुट्टै सेल बनाएर त्यहाँको आपूर्ति व्यवस्थालाई नियमित गर्नुपर्ने उनको सुझाव छ। अन्य क्षेत्रका समस्या हेर्न अर्को छुट्टै सेल बनाउनुपर्ने उनले बताए।
‘उपत्यका मात्रै हेर्ने कर्मचारी को हो, त्यो फोन नम्बर कसको हो, जनताले त्यहाँ कसरी फोन गर्ने र त्यसको रेस्पोन्स कसरी हुन्छ, त्यो मेकानिजम हुनुपर्छ,’ श्रेष्ठले भने, ‘ग्यासको समस्या विपद् आएका जिल्लाहरूमा पनि छ। ती जिल्लाहरूलाई हेर्ने अलगै सेल गठन गरिनुपर्छ।’
दीर्घकालीन रूपमा भने नेपालभित्र ग्यासका सम्भावित स्रोत पहिचान भएका स्थानमा उत्खननको काम अघि बढाउनुपर्ने श्रेष्ठको सुझाव छ। ‘अहिले जुन-जुन ठाउँमा ग्यासहरू देखिएका छन्, त्यो ग्यास देखिएको ठाउँमा त्यसको उत्खनन सुरु गर्ने काम पनि गर्न जरुरी छ,’ उनले भने।
भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीपछि कृष्णभीरमा सडक पहिरिँदा काठमाडौं उपत्यकामा ग्यास ढुवानी प्रभावित भएको छ। यसअघि नै आपूर्तिमा समस्या देखिएको ग्यासको अभाव सडक अवरुद्ध भएपछि थप चर्किएको छ।