रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले प्रधानमन्त्री र सचिवालयले 'हुकुमी शैलीमा' शासन चलाइरहेको बताए।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन व्यवस्था छ, तर प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार शासन व्यवस्थामा परिवर्तन भएको छ,’ उनले भने, ‘संविधानको कुन दफा र कुन ऐनमा यो व्यवस्था छ मैले बुझ्न सकेको छैन। सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ।’
ज्वागलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घर छ।
सिंहले सम्पत्ति शुद्धीकरणको महानिर्देशकलाई बोलाएर पेस्तोल भिराउँदै दुई घन्टाभित्र रेड कर्नर नोटिस जारी गर भनेर भनिएको घटना पनि उनले उप्काएका थिए।
उनले उद्योग मन्त्रीबाट आज राजीनामा दिएकी गौरीकुमारी यादवको प्रसंग पनि निकाले। उनले मन्त्री यादवको राजीनामा नभई बर्खास्त भएको पनि बताए।
‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन् चित्त बुझेन भने। तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई पक्राउ गर्न या सचिवालयले पठाउँछन्। यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म झस्कन्छु कि म कुन देशको सांसद हुँ,’ उनले भने।