युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विमानसँग एउटा जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोन झन्डै ठोकिएको खुलासा भएको छ।
नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले जेलेन्स्कीको विमान मोल्डोभाबाट मंगलबार उडान भर्नै लाग्दा ड्रोनले झन्डै प्रहार गरेको बताएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
जेलेन्स्कीसँगै विमानमा रहेका एक वरिष्ठ युक्रेनी अधिकारीले त्यसको पुष्टि गर्दै त्यो जेट इन्जिनबाट चल्ने रूसी शहिद मोडलको ड्रोन भएको विश्वास गरिएको बताए।
रूसले अहिलेसम्म यस विषयमा औपचारिक टिप्पणी गरेको छैन।
राजा हेरल्डको अन्त्येष्टिमा सहभागी हुन जेलेन्स्की नर्वेतर्फ यात्रा गरिरहेका बेला सो आक्रमण भएको हो। घटनापछि मोल्डोभाका अधिकारीहरूले चिसिनाउ विमानस्थलका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेका थिए।
मोल्डोभा सरकारका एक प्रवक्ताले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार दिउँसो ४:३० बजेलगत्तै एक रुसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेपछि देशले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो।
ती प्रवक्ताका अनुसार उक्त ड्रोन युक्रेनको दिशाबाट आएको थियो।
दिउँसो करिब ५:२० बजे चिसिनाउ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १६० किमी टाढा रहेको रिस्कानी जिल्लाको मिहाइलेनी वेची नजिकै ड्रोन विस्फोट भएको थियो। सोही विमानस्थलबाट पछि जेलेन्स्कीको विमानले उडान भरेको थियो।
आफुले हेरेको मोल्डोभन एयर ट्राफिक र युक्रेनी सैन्य ट्र्याकिङ रेकर्ड अनुसार, एक जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोनले स्थानीय समय अनुसार दिउँसो करिब ४:२० बजे युक्रेनको सीमा पार गरी पश्चिम मोल्डोभातर्फ अघि बढेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
दिउँसो ४:३८ बजे ड्रोन रोमानियाको हवाई क्षेत्रमा प्रवेश गर्यो र ४:४७ बजेसम्ममा पश्चिमतर्फ गइरहेको उक्त ड्रोन रोमानियाभित्र करिब ७० किमी पुगेको थियो। त्यसपछि ड्रोन ५:०४ बजे पुनः मोल्डोभाको हवाई क्षेत्रमा प्रवेश गर्यो। तर १० मिनेटपछि रडारसँगको सम्पर्क विच्छेद भयो।
रूसले पछिल्लो समय ब्यालिस्टिक मिसाइलहरूसँगै जेट इन्जिनयुक्त ड्रोनहरूको प्रयोग गरी आक्रमणहरू तीव्र बनाएको छ। उच्च गतिका जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न युक्रेनलाई अहिले मुश्किल भइरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)