नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ।
एमाले प्रचार–प्रसार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।
एमालेले जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदल १५ सदस्यीय छ। महासचिव शंकर पोखरेल कार्यदलका सदस्यसचिव हुन्।
महासचिव पोखरेलले एक महिनाअघि नै पार्टी उपाध्यक्ष तथा कार्यदल प्रमुख थापालाई प्रतिवेदन बुझाइसकेका छन्। थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।
अध्यक्ष ओली प्रतिवेदन पुनर्लेखन गर्ने पक्षमा रहेको बताइएको छ भने महासचिव पोखरेल र उनीनिकट नेताहरू प्रतिवेदन कार्यान्वयन गरेर अघि बढ्नुपर्ने अडानमा छन्।
महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’को व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ।
६५ पृष्ठ लामो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री वा सांसद हुन नपाउने व्यवस्था गरी अवसरको न्यायोचित वितरण गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ।