नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को बैठक शनिबार बस्ने गरी सकिएको छ।
आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुई वटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए।
थापाले महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदन समेत पेस गरेका थिए। थापाले एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ गरी दुई वटा दस्तावेज प्रस्तुत गरे।
छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने प्रस्ताव थापाको थियो।
आज प्रस्तुत भएका दुवै ‘डकुमेन्ट’ को अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रचार-प्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमाले सचिव महेश बस्नेतले आवासीय बैठक गरेर टुङ्गो लगाउने निर्णय भएको बताए।
उनले आवासीय बैठकको स्थान भने तय नभएको बताए।
एमालेले जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदल १५ सदस्यीय छ। महासचिव शङ्कर पोखरेल कार्यदलका सदस्य-सचिव छन्।
यसअघि नै महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा भने पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’ को व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ।
६५ पृष्ठ लामो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
उपाध्यक्ष एवं कार्यदलका संयोजक थापाको प्रतिवेदनमा ओलीको विकल्प रोज्न नहुने लगायत उल्लेख छ। थापाले आफ्नो प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बचाउ पनि गरेका छन्।