नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज नेताहरूबीच छलफल भएको छ।
देउवा पक्षका नेताहरूबीच आज बिहान छलफल भएको हो। उक्त छलफल सकिएको छ।
संयोजक शशांक कोइराला, नेताहरू प्रकाशशरण महत, एनपी साउद लगायतबीच आज बिहान छलफल भएको थियो।
छलफल सकिएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता प्रकाशशरण महतले अनौपचारिक कुराकानी गरिएको बताए। उनले आजै अपराह्न ४ बजे पत्रकार सम्मेलन गरिने पनि बताए।
नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर वडा अधिवेशनमा सहभागी भएका १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई अहिलेको विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो।
उक्त निर्णयपछि देउवा पक्षीय नेताहरू छलफलमा जुटेका थिए।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइराला नेतृत्वमा १५ औं महाधिवेशन तयारी समिति बनाएर असोज १५ मा वडा अधिवेशन गर्ने गरी बेग्लै कार्यतालिका ल्याएका छन्।
उनीहरूले देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने पनि बताइरहेका छन्। संस्थापन पक्षले गरेको निर्णय स्वीकार गर्न नसकिनेमा देउवा पक्षका नेताहरू छन् र असोज १५ देखि वडा अधिवेशन गर्ने कार्यतालिकाअनुसार काम अघि बढाउने तयारीमा उनीहरू छन्।
नेताहरूका अनुसार आज दिउँसो २ बजे चुनदेवीमा बैठक बस्ने र अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी नेताहरूको छ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुईकेलले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज १५ देखि सुरू हुने बताए।
‘विशेष महाधिवेशन पक्षले गरेको निर्णय स्वीकार गर्ने खालको छैन, हामी पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने गरी अघि बढ्छौं,’ कुईकेलले सेतोपाटीसँग, ‘असोज ९ गतेसम्म नयाँ क्रियाशील वितरण हुन्छ। १४ औं महाधिवेशनमा भाग लिएका सबै क्रियाशील सदस्यले महाधिवेशनमा भाग लिन पाउँछन्।’
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष भने असोज ३ र ४ मा हुने नेपाली कांग्रेसको वडा अधिवेशन प्रक्रियामा भाग लिन सकारात्मक भएको देखिन्छ। खड्का पक्षका करिब ३१ जना विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा समाहित हुन र असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन सकारात्मक देखिएको नेताहरूको भनाइ छ।
नेता श्याम घिमिरेले आफूहरू महाधिवेशनमा भाग लिन सकारात्मक रहेको बताए। ‘हामी केही नेताहरू आज छलफल गर्दैछौं, हामी १५ औं महाधिवेशनमा भाग लिन सकारात्मक छौं, पूर्ण दाइ के गर्नुहुन्छ उहाँसँग कुरा भइसकेको छैन,’ उनले सेतोपाटीसँग भने।
उनले अहिलेको केन्द्रीय समितिमा नेताहरूसाई समाहित गरिएको सिधा भाषा प्रयोग नगरे कार्यसम्पादन समितिको आइतबारको बैठकले घुमाउरो भाषा प्रयोग गरेको पनि बताए।