इरानका सर्वोच्च नेता मोज्तबा खमेनीको निजी जीवनबारे हालै सार्वजनिक भएको पारिवारिक अन्तर्वार्ताले उनको घरायसी जीवन, धार्मिक अभ्यास, अध्ययन र रुचिबारे दुर्लभ विवरण सार्वजनिक गरेको छ।
उनकी दिवंगत पत्नी जाहरा हद्दाद–आदेलका दाजु फरीदुद्दिन हद्दाद–आदेलले मोज्तबालाई करिब २९ वर्षदेखि नजिकबाट चिनेको बताउँदै उनका निजी र पारिवारिक जीवनका विभिन्न पक्षबारे भर्खरै वर्णन गरेका छन्।
जाहरा हद्दाद–आदेलको २८ फेब्रुअरीमा मारिएकी थिइन्। जाहराका ससुरा तथा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएको अमेरिकी–इसराइली हवाई हमलामा उनको मृत्यु भएको थियो।
फरीदुद्दिनका अनुसार ५७ वर्षीय मोज्तबा समय पाउँदा घरका अधिकांश काम आफै गर्थे। घरमा हुँदा मोज्तबा आफ्ना तीन बच्चाको हेरचाहमा सक्रिय हुन्थे।
बच्चाको डाइपर फेर्ने, नुहाइदिने र शौचालय लैजाने, झोला बोक्ने, स्ट्रोलर धकेल्ने तथा खाना खुवाउने काम उनी आफै गर्थे। उनी परिवारका लागि चिया बनाउँथे र चिया खाइसकेपछि गिलास उठाएर धुन्थे पनि।
मोज्तबाको जीवनशैली पनि साधारण थियो। इरानको धार्मिक सहर कोममा बस्दा उनीहरू सीमित सामान भएको सामान्य घरमा बस्थे। पछि तेहरान फर्किएपछि करिब ७०–८० वर्गमिटरको घरमा बसे।
उनकी पत्नी जाहरा विद्यालयमा काम गर्थिन् र बिस्तारै घरका लागि फर्निचर तथा अन्य सामान जोड्दै गएकी थिइन्।
कपडामा पनि उनी मितव्ययी रहेको फरीदुद्दिनको वर्णन छ। मोज्तबाले लामो समय एउटै ज्याकेट लगाए। उनी आफ्ना पिता अलि खामेनीले लगाएका कपडा पनि लगाउँथे।
एउटा प्रसंगमा उनले पुराना जुत्ता फेर्न सुझाव दिँदा मोज्तबाले 'पोलिस गरे नयाँजस्तै हुन्छ' भन्ने जबाफ दिएको फरीदुद्दिनले बताएका छन्।
धार्मिक अभ्यास पनि उनको जीवनको महत्वपूर्ण हिस्सा रहेको पारिवारिक वर्णन छ। उनी लामो समयसम्म नमाज पढ्थे, नियमित कुरान पढ्थे र वर्षको करिब ६ महिना रोजा बस्थे।
यात्रा क्रममा पनि उनी आफूसँग रहेको कुरान खोलेर पढ्थे।
मोज्तबा धेरै फिल्म पनि हेर्थे। मनोविज्ञान, संज्ञानात्मक विज्ञान, स्टार्टअप, वित्तीय साक्षरता, कृषि तथा पानी व्यवस्थापन जस्ता विषयमा गहिरो रूचि राख्थे। परिवारले उनी विभिन्न विषयमा व्यापक अध्ययन गर्ने पनि बताएको छ।
हालै सार्वजनिक भएको अर्को विवरणमा फरीदुद्दिनले मोज्तबा क्रिस्टोफर नोलनका फिल्मबारे जानकार रहेको बताएका छन्।
युरोन्युजले उनका परिवारका सदस्यहरूको वर्णन उद्धृत गर्दै मोज्तबालाई फिल्ममा रूचि राख्ने र स्टार्टअप तथा संज्ञानात्मक विज्ञानमा चासो भएका व्यक्तिका रूपमा प्रस्तुत गरेको छ।
छोराछोरीसँगको व्यवहारबारे पनि फरीदुद्दिनले मोज्तबा सहज र धैर्यवान रहेको बताएका छन्। मोज्तबा आफूले अपनाउने धार्मिक अनुशासन परिवारमाथि अनिवार्य रूपमा थोपर्दैनथे। उनकी छोरी विद्यालयमा राम्रो फुटबल खेल्थिन्।
मोज्तबाको पारिवारिक जीवनमा सुरक्षाका कारण धेरै सीमितता पनि रहेको फरीदुद्दिनले बताएका छन्।
उनी परिवारसँग सामान्य रूपमा बाहिर निस्किन वा सार्वजनिक स्थानमा सहज रूपमा जान सक्दैनथे। एक पटक समुद्रमा परिवारसँग पुगेका बेला उनी पानीमा जान हिच्किचाएका थिए। तैपनि पछि परिवारका सदस्यसँग केही घण्टा पानीमा बसेका थिए।
अर्को प्रसंगमा, मोज्तबाले आफ्ना छोराछोरीसँग फुटबल खेल्न चाहे पनि धार्मिक पोसाकमै खेल्न अप्ठ्यारो हुने बताएका थिए। पारिवारिक समारोहमा उपस्थित हुनसमेत सुरक्षाका कारण समस्या हुने गरेको फरीदुद्दिनको भनाइ छ।
अर्को एक अन्तर्वार्तामा फरीदुद्दिनले मोज्तबा कहिलेकाहीँ करिब तीन घण्टा मात्र सुत्ने बताएका छन्। बाँकी समयको ठूलो हिस्सा उनी अध्ययन तथा धार्मिक अभ्यासमा बिताउँथे।
मोज्तबाको निजी जीवनबारे यी विवरणहरू सार्वजनिक रूपमा विरलै आउँछन्। तर यी सबैलाई सावधानीपूर्वक लिनुपर्ने हुन्छ।
अन्तर्वार्तामा दिइएका अधिकांश विवरण मोज्तबाकी पत्नीका दाजु (जेठान) फरीदुद्दिनको व्यक्तिगत अनुभव र पारिवारिक संस्मरण हुन्। ती सबैलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन। युरोन्युजले पनि मोज्तबाको सादा जीवन शैली सम्बन्धी पारिवारिक विवरणहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने जनाएको छ।
फेब्रुअरी २८ मा पिता तथा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीमाथि हमला हुँदा नजिकैको कोठामा रहेका मोज्तबा गम्भीर घाइते भएको मानिन्छ।
विगतमा आफ्ना पिताको कार्यालय र इरानको सुरक्षा प्रतिष्ठानसँग निकट रहेका मोज्तबा अलि खमेनीको मृत्युपछि सर्वोच्च नेता बने। उनको चोट र सुरक्षाका कारण उनी सो हमलापछि सार्वजनिक रूपमा देखिएका छैनन्। उनका नाममा विज्ञप्ति आए पनि त्यसपछिका उनका कुनै नयाँ तस्वीर वा भिडिओ सार्वजनिक भएका छैनन्।
त्यसैले फरीदुद्दिनको वर्णनलाई मोज्तबाको निजी जीवनको पारिवारिक झलकका रूपमा लिन सकिन्छ। उनको सम्पूर्ण व्यक्तित्व वा जीवनशैलीको स्वतन्त्र रूपमा प्रमाणित चित्रका रूपमा होइन।
फरीदुद्दिनले अहिले सर्वोच्च नेता बनेका आफ्ना ज्वाइँको छवि राम्रो बनाउन त्यसो भनेका पनि हुन सक्छन्।
तैपनि खासगरी मोज्तबाले घरायसी काममा सघाउने र उनकी छोरी फुटबल खेल्ने कुराले उनको सार्वजनिक धार्मिक–राजनीतिक पहिचानभन्दा फरक तस्वीर प्रस्तुत गरेको छ।
मोज्तबाको निजी जीवनको यो विवरणलाई इरानको महिला सम्बन्धी राज्य नीतिको फराकिलो पृष्ठभूमिबाट अलग गरेर हेर्नुपर्छ।
शाह पहलवी वंशको शासनको बेलामा महिलाप्रति तुलनात्मक रूपमा उदार रहेको इरान सन् १९७९ को इस्लामिक क्रान्ति पछि कठोर भयो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाको पहिरन सम्बन्धी इस्लामिक नियम क्रमशः कानुनी रूपमा अनिवार्य बनाइयो। सार्वजनिक स्थानमा अनिवार्य हिजाब लागू गर्ने व्यवस्था लामो समयदेखि महिला अधिकारको प्रमुख विवादका रूपमा रहँदै आएको छ।
यसको सबैभन्दा चर्चित घटनामध्ये एक महसा 'जिना' अमिनीको मृत्यु हो।
२२ वर्षीया अमिनीलाई २०२२ सेप्टेम्बरमा अनिवार्य हिजाब सम्बन्धी नियम पालना नगरेको आरोपमा 'नैतिकता प्रहरी' ले पक्राउ गरेको थियो।
हिरासतमा रहँदा उनको मृत्यु भयो। उनको मृत्युपछि 'वुमन, लाइफ, फ्रिडम' आन्दोलन अन्तर्गत देशव्यापी प्रदर्शन सुरू भयो। संयुक्त राष्ट्र संघीय स्वतन्त्र तथ्य–खोजी मिसनले पछि उनको मृत्यु गैरकानुनी भएको र राज्य अधिकारीहरूको हिरासतमा भएको शारीरिक हिंसाका कारण भएको निष्कर्ष निकालेको थियो।
अमिनीको मृत्युपछि सुरू भएको आन्दोलनमाथि इरानी सुरक्षा निकायले व्यापक दमन गरेको संयुक्त राष्ट्र संघीय अनुसन्धानले जनाएको छ।
पछिल्लो समय सार्वजनिक भएको एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानले पनि सन् २०२२ को आन्दोलनमाथिको दमनमा हत्या, यातना र यौन हिंसासहितका गम्भीर उल्लंघन भएको जनाएको छ। एम्नेस्टीले कम्तीमा ३७७ प्रदर्शनकारी तथा सर्वसाधारणको मृत्यु प्रमाणित गरेको बताएको छ। त्यसमा ५६ जना बालबालिका थिए।
महिला अधिकार अभियन्ताहरू पनि लामो समयदेखि राज्यको दमनमा पर्दै आएका छन्।
नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीले महिलाको अधिकार र मृत्युदण्डको विरोधमा आवाज उठाउँदै जेल र हिरासत भोगेकी छन्। मानव अधिकार सम्बन्धी कानुन व्यवसायी नसरीन सोतुदेहलाई पनि महिलाको अधिकारका पक्षमा काम गरेको भन्दै पटक पटक पक्राउ गरिएको छ। उनलाई २०२६ अप्रिलमा फेरि पक्राउ गरिएको र पछि स्वास्थ्य उपचारका लागि रिहा गरिएको मानव अधिकारवादी संस्थाहरूले जनाएका छन्।
हालका वर्षमा इरानी महिलाहरूले अनिवार्य हिजाबविरूद्ध सार्वजनिक अवज्ञा पनि जारी राखेका छन्।
धेरै महिला सार्वजनिक स्थानमा टाउको नढाकी हिँडिरहेका छन्। र, सामाजिक सञ्जालमार्फत त्यस्ता तस्बिर तथा भिडिओ सार्वजनिक गरेका छन्। व्यवहारमा केही ठाउँमा हिजाब सम्बन्धी नियमको पालना घटेको देखिए पनि कानुनी व्यवस्था र राज्यको नियन्त्रण पूर्ण रूपमा हटेको छैन।
यही पृष्ठभूमिमा मोज्तबाको व्यवहारबारे उनका जेठानले बताएका कुराले उनको निजी जीवनको एउटा फरक पक्ष देखाउँछ। छिमेकी साउदी अरबका शासक मोहम्मद बिन सलमानले बिस्तारै महिला अधिकार प्रदान गरेको जस्तै मोज्तबा पनि महिलाप्रति उदार हुन सक्ने झिनो भए पनि सम्भावना देखिन्छ।
तर घरमा श्रीमतीलाई घरेलु काममा सघाउनु मात्रै महिलाको अधिकार, अनिवार्य हिजाब वा इरानको लैंगिक कानुनी व्यवस्थाप्रतिको राजनीतिक दृष्टिकोणको प्रमाण होइन।