नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्।
कारागार कार्यालय डिल्लीबजारका एक कर्मचारीका अनुसार उनी बिहीबार बिहानै थुनामुक्त भएका हुन्।
जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी रिहा भएका हुन्।
जेष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६५ वर्ष उमेर पुगेका उनलाई कैद सजायमा छुट दिने निर्णय गर्दै अदालतले कात्तिक २६ गते रिहा गर्न आदेश दिएको थियो।
गत असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो।
उनी २०८० वैशाख ३१ गतेदेखि थुनामा थिए।
रायमाझीले ज्येष्ठ नागरिकको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका तर ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउन सक्छन्।
अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो।
विभिन्न कसुरमा सजाय सुनाइए पनि एकीकृत कसुरतर्फ अधिकतम चार वर्ष कैद तोकिएको थियो।