रेड सीको तटीय क्षेत्र र बाब अल–मन्देब जलमार्गमाथि आफ्नो सैन्य गतिविधि विस्तार गरेको यमनका हुथी विद्रोहीलाई रोक्न चीनले इरानलाई दबाब दिएको छ।
हुथीको गतिविधि रोक्न साउदी अरबले चीनलाई आग्रह गरेपछि बेइजिङले इरानमाथि दबाब दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तीन इरानी स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ। इरानले यमनमा हुथीलाई पैसा र हतियार दिएर आफ्नो गतिविधि सञ्चालन गराउँदै आएको छ।
पछिल्लो समय हुथीको तीव्र सैन्य विस्तारले साउदी अरबको तेल निर्यात र रेड सी हुँदै पैठारी हुने अन्तर्राष्ट्रिय जल यातायात समेत जोखिममा परेको छ।
हुथीको आक्रमणपछि साउदीले आफ्नो १२०० किलोमिटर लामो तेल पाइपलाइन समेत बन्द गरेको थियो। आक्रमण नरोकिएपछि रियादले चीन गुहारेको हो।
यसअघि साउदीले हुथीमाथि आक्रमण गर्न अमेरिकासँग आग्रह गरेको थियो। साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन नै गरेर हुथीमाथि हमला गर्न आग्रह गरेका थिए।
त्यतिबेला ट्रम्पले तत्काल सैन्य कारबाही गर्न अस्वीकार गरिदिएका थिए। उनले अहिले हुथीमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने योजना नरहेको बताएका थिए। बरू हुथीसम्बन्धी गुप्तचर सूचना र लक्षित कारबाहीका लागि आवश्यक जानकारी उपलब्ध गराउन अमेरिका तयार भएको थियो।
चीनले सार्वजनिक रूपमा संयम अपनाउन र संवादमार्फत समस्या समाधान गरी समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरे पनि निजी सन्देशमा भने इरानलाई हुथीमाथि आफ्नो प्रभाव प्रयोग गरी उनीहरूलाई रोक्न आग्रह गरेको रोयटर्सले जनाएको छ।
चीनले हुथी र साउदीबीचको द्वन्द्व चीनका लागि महत्त्वपूर्ण जलमार्गतर्फ फैलिन नदिन समेत आग्रह गरेको स्रोतहरूले जनाएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराग्ची बुधबार चीन भ्रमणमा हुँदै उक्त बेइजिङले उक्त सन्देश दिएको हो। चीनले अराग्चीलाई व्यक्तिगत रूपमै दिएको हो कि अन्य स्रोतहरूमार्फत सन्देश तेहरान पठाइएको भन्ने चाहि खुलेको छैन।
चीनले हुथीलाई रोक्न आग्रह गरेको जबाफमा तेहरानले भने क्षेत्रीय स्थिरता र शान्ति अमेरिका र इसराइलसँग युद्ध अन्त्य भएपछि मात्रै सम्भव हुने धारणा राखेको स्रोतहरूले बताएका छन्।
आफ्नो आग्रह नमाने इरानमाथि आर्थिक दबाब दिने वा अन्य कुनै स्पष्ट धम्की भने चीनले अहिलेसम्म दिएको छैन।
रोयटर्सले यसबारे चिनियाँ विदेश मन्त्रालयका अधिकारीसँग जबाफ मागेको छ। चिनियाँ विदेश मन्त्रालयले यमन र रेड सीमा क्षेत्रीय तनाव थप फैलिएको हेर्न चीन नचाहने बताएको छ।
मन्त्रालयले क्षेत्रीय अस्थिरता बढ्नु कुनै पनि पक्षको हितमा नरहेको भन्दै सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान गर्नुपर्ने तथा नागरिकको जीवनयापनका लागि महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन नहुने बताएको छ।
इरानको विदेश मन्त्रालय र साउदी सरकारको सञ्चार कार्यालयले रोयटर्सको प्रतिक्रियाका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएका छैनन्।
चीनका लागि यो विषय आर्थिक रूपमा पनि महत्वपूर्ण छ।
चीन एक दशकभन्दा लामो समयदेखि इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ र इरानी तेलको मुख्य खरिदकर्ता हो।
सन् २०२५ मा इरानको समुद्री मार्गबाट भएको तेल निर्यातको ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो। उसले दैनिक करिब १४ लाख ब्यारेल कच्चा तेल इरानबाट आयात गर्दै आएको छ।
रेड सी र बाब अल–मन्देबमा हुथी गतिविधि बढ्दा इरानले हर्मुज जलमार्गध्यमा सिर्जना गरेको अवरोधसँगै मध्यपूर्वका दुई प्रमुख तेल निर्यात मार्ग प्रभावित हुन सक्ने जोखिम बढेको छ।
रोयटर्सका अनुसार बुधबार हर्मुज हुँदै तीन वटा व्यावसायिक जहाज मात्रै चलेका थिए। अघिल्लो दिन १२ र त्यसअघि १० वटा जहाजहरुले मात्रै हर्मुज पार गरेका थिए। बाब अल–मन्देब हुँदै जाने जहाजको संख्या पनि २४ बाट घटेर २१ झरेको जनाइएको छ।
सन् २०२३ मा पनि चीनले इरान र साउदी अरबबीच वर्षौंको तनावपछि कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने सम्झौता गराउन मध्यस्थता गरेको थियो।
तर इरानभित्र चीनसँगको गैर–तेल व्यापार तथा लगानी अपेक्षाकृत कम रहेको भन्दै आलोचना हुँदै आएको छ।
अहिले तेहरानले बेइजिङको आग्रहअनुसार हुथीमाथि प्रभाव प्रयोग गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन।
इरानी स्रोतहरूका अनुसार चीनसँगको आर्थिक र रणनीतिक सम्बन्ध महत्वपूर्ण भए पनि इरानका निर्णयमा अन्य रणनीतिक, आर्थिक र राजनीतिक प्राथमिकताले पनि भूमिका खेल्नेछन्।
साउदी र हुथीबीचको संघर्ष गत जुलाईमा पुनः चर्किएको थियो।
साउदी अरबले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिबाट यमन फर्किरहेका वरिष्ठ हुथी अधिकारीहरू सवार विमानलाई सानामा अवतरण गर्न रोक लगाएपछि हुथीले साउदीविरुद्ध आक्रमण सुरु गरेका थिए।
त्यसपछि हुथीले रेड सीमा साउदीका तेल ट्यांकरलाई निशाना बनाउन थालेका थिए।
पछि उनीहरूले साउदीका ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण विस्तार गरे। जवाफमा साउदी अरब र उसका सहयोगी यमनी सेनाले हुथीका स्थानमा हवाई तथा स्थल आक्रमण गरेका थिए।
जुलाईमा भने साउदीले आफूले नै हुथीको सामना गर्न सक्ने भन्दै अमेरिकाबाट सैन्य सहयोग आवश्यक नभएको बताएको थियो।
त्यतिबेला बिन सलमानले ट्रम्पसँग हुथीविरुद्ध कारबाहीका लागि राजनीतिक समर्थन मात्र मागेका थिए र साउदीलाई अमेरिकी सैन्य सहयोग आवश्यक नरहेको बताएका थिए। ट्रम्पले उनको कदमलाई समर्थन गरेका थिए।
तर पछिल्लो समय युद्ध चर्किँदै गएपछि साउदीले अमेरिकासँगै चीनको पनि सहयोग मागेको हो।