१५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनको संघारमा धेरै नेताहरू सानेपा पुगेपछि अब निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको साथमा कति केन्द्रीय नेताहरू बाँकी छन् भन्ने कांग्रेसभित्र र बाहिर पनि चासो छ।
भोलि असोज ३ र पर्सि असोज ४ गते वडा अधिवेशन हुँदैछ। त्यसअघि केन्द्रीय कार्यसम्पादन समितिको भदौ २८ गतेको निर्णयअनुसार १४ औं महाधिवेशनका केन्द्रीय सदस्यको हैसियत विशेष महाधिवेशनबाट आएका केन्द्रीय सदस्य बराबर बनाइएको थियो। त्यसपछि देउवा पक्षका धेरै नेता सानेपा फर्किएका हुन्।
२०७८ मा भएको १४ औं महाधिवेशनमा देउवा ८२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यसहित सभापतिमा विजयी भएका थिए।
त्यसबेलाका पदाधिकारीमध्ये देउवाको साथमा उभिने कोही छैनन्। बेग्लै महाधिवेशन ल्याउन चुनदेवीमा कार्यतालिका पेस गरेका उमाकान्त चौधरी पनि संस्थापन पक्षमा आउन सकारात्मक देखिएको दाबी संस्थापन पक्षका नेताहरूको छ। तर उनले यसबारे धारणा दिइसकेका छैनन्।
१४ औं महाधिवेशनका बेला कांग्रेसका अधिकांश नेताहरूको भरोसाको केन्द्र थिए- देउवा। त्यसबेला उनी प्रधानमन्त्री पनि थिए।
तर २०८२ भदौको जेनजी आन्दोलनपछि राजनीति बदलियो। निवास बूढानीलकण्ठमै देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो।
बदलिएको राजनीतिको प्रभाव कांग्रेसमा पनि देखियो। पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण अभियान चल्यो। देउवालाई भरोसा गर्नेहरू क्रमश: घट्दै गए। तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माका पक्षमा नेताकार्यकर्ताहरू जुट्ने क्रम चल्न थाल्यो।
त्यसपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए, तर निर्णय प्रक्रियामा हस्तक्षेप गरिरहे। जसका कारण लामो समय केन्द्रीय समिति बैठक अनिर्णीय रह्यो। फलस्वरूप कांग्रेसले पुसभित्र नियमित महाधिवेशन गर्न सकेन, गगन थापा र विश्वप्रकाश शर्माहरूको अगुवाइमा महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन भयो।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापाले टिकट बाँडे। देउवालाई टिकट दिएनन्, फलस्वरूप देउवा उपचार गराउन भन्दै चुनावको मुखमा सिंगापुर उडेका थिए।
सिंगापुरमा उपचार र हङकङमा आराम गरेर करिब ५ महिनामा देउवा साउन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लदा उनी पक्षका नेताकार्यकर्ताले भब्य स्वागत गरेका थिए।
देउवा विदेशमा हुँदा यहाँ उनीपक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि सुरू गरिसकेका थिए। देउवा स्वदेश फर्केपछि संस्थापन पक्षसँग संवाद होला र विशेष महाधिवेशनदेखि उत्पन्न मतभेद हल होला भनेर कतिपयले सोचेका थिए तर त्यसो भएन।
देउवा विमानस्थलबाट सोझै चुनदेवी कार्यालयमा पुगे।
‘मलाई राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?’ भन्ने अभिव्यक्ति दिए। चुनदेवीमा देउवालाई सभापति भनेर लेखिएको कोठा र टेबुलमा उनले कार्यभार सम्हालेको तस्बिरहरू आयो।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु’ भनेर अपिल जारी गरेका देउवा छिनभरमा सभापतिका रूपमा देखा परे र भोलिपल्ट साउन २९ मा आफूपक्षले राखेको राष्ट्रिय भेला/सम्मेलनमा सहभागी भएका थिए।
यही भेलाले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्न पाउनुपर्ने नयाँ अडान संस्थापनसमक्ष राख्न थाल्यो। देउवाले पनि आफूको जानकारीबिना सनाखत नै नगरी गगन थापाले विशेष महाधिवेशन गरेको भन्न थाले। र, भदौ ३० मा अपिल जारी गर्दै जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्नेमा पुगे।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले भने, ‘देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५ औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।’
अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाहमा पछि नट्ने देउवाको अपिलपछि उनीनिकट धेरै नेताहरू भने सानेपातिर सोझिएका थिए। यसो हुनुमा साउन ३१ को राष्ट्रिय सम्मेलनको एउटा निर्णयले पनि भूमिका खेलेको छ, देउवा पक्षले घुमाउरो भाषामा हिन्दु राष्ट्रका पक्षमा उभिने संकेत संविधान निर्माणमा योगदान गरेका उनीनिकट धेरै नेताहरू टाढिने अवस्था बन्यो।
गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अघि बढाएपछि रोक्न देउवा पक्ष बारम्बार सर्वोच्च अदालत पुग्यो तर सर्वोच्चले महाधिवेशन रोक्न आदेश दिएन। देउवा पक्षका कतिपय नेताहरू सर्वोच्चले विशेष महाधिवेशन फैसला पुनरवलोकन मुद्दामा अनुमति (निस्सा) दिएकोले यस्तो अवस्थामा महाधिवेशन गर्न नहुनेमा छन् तर आफै बेग्लै महाधिवेशन कार्यतालिका पनि ल्याएर विरोधाभास निर्णयहरू गरिरहेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर त्यसमार्फत् देउवा बेग्लै महाधिवेशन तयारीमा जुटेका छन्। तर उनलाई विगतमा साथ दिएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र बेलाबेला साथ दिने गरेका नेता शेखर कोइराला पनि उनको साथमा अहिले छैनन्। खड्का र कोइराला मझधारमा उभिन खोजेका छन्। दुवै महधिवेशन कार्यतालिका रोकेर निर्णायक संवाद थाल्न उनीहरूले अपिल गरिरहेका छन्। तर खड्का र कोइरालाको अपिल सुनेर त्यसमा अडिने नेताहरू कम छन्, अधिकांश नेताहरू महाधिवेशन प्रक्रियामा होमिन सानेपा गइसकेका छन्।
देउवा छाडेर संस्थापनमा आएका कतिपय नेताहरूका अनुसार अब पार्टी मिल्ने सम्भावना कम छ। पार्टीलाई एकताबद्ध बनाएर लैजान देउवामाथि दबाब दिँदा उल्टै उनले कित्ता क्लियर गर्न नेताहरूलाई भनेका थिए। त्यसपछि उनको साथ छाड्नेहरू झन् बढे। देउवा बेग्लै पार्टी बनाउँदैछन् र उक्त पार्टीको विचार र सिद्धान्त नेपाली कांग्रेसकोभन्दा भिन्न हुनेछ भन्ने उनीहरूलाई लागेको छ।
१४ औं महाधिवेशनबाट आएको कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित शेखर स्वत: केन्द्रीय सदस्य भएका थिए। यसबीच रामशरण महत बिरामी छन् भने झापाका नेता कुमार बुढाथोकीको निधन भएको थियो। अब देउवासँग थौरै केन्द्रीय नेताहरू मात्रै साथमा रहेको देखिन्छ।
कतिपयले संस्थापन पक्षले गरेको अधिवेशनमा पराजित हुनेहरू देउवा पक्षको अधिवेशनमा नेता बनेर जान सक्ने आकलनसमेत गरिरहेका छन्। त्यसैले संस्थापन पक्षले सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने जमर्को गरिरहेको छ।

अब देउवाका पक्षमा को को नेता बाँकी छन् हेरौं-
१. शेरबहादुर देउवा
२. प्रकाशमान सिंह
३. विमलेन्द्र निधि
४. शशांक कोइराला
५. कृष्णप्रसाद सिटौला
६. प्रकाशशरण महत
७. नारायण खड्का
८. मानबहादुर विश्वकर्मा
९. एनपी साउद
१०. आनन्द ढुंगाना
११. अम्बिका बस्नेत
१२. शंकर भण्डारी
१३. रमेश लेखक
१४. मोहनबहादुर बस्नेत
१५. शिव हुमागाईं
१६. किरणराज शर्मा पौडेल
१७. जितजंग बस्नेत
१८. गुरु बराल
१९. कुन्दनराज काफ्ले
२०. मदन अमात्य
२१. आरजु राणा देउवा
२२. गोविन्दबहादुर शाह
२३. नृपबहादुर वड
२४. रंगमति शाही
२५. विद्या तिमल्सिना
२६. सीतादेवी देवकोटा पाण्डे
२७. लक्ष्मी खतिवडा
२८. कल्याणी रिजाल
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट सबै केन्द्रीय नेताहरू सानेपा गइसकेका छन्। तर खड्का भने महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्नुपर्ने पक्षमा छन्।
नेता शेखर कोइराला पक्षका कतिपय नेता अझै अन्यौलमा देखिएका छन्। शेखर पनि दुवै महाधिवेशनमा सहभागी नरही पार्टी एकताका लागि गाउँ-गाउँ जाने पक्षमा छन्।
तर शेखरबाहेक अरू नेताहरूसँग संस्थापन पक्ष संवादमा छ र उनीहरू वडा अधिवेशनसम्म संस्थापनमा आउने गरी संवाद अघि बढेको दाबी नेताहरूको छ। १४ औं महाधिवेशनमा शेखर पक्षबाट २२ जना केन्द्रीय सदस्य जितेका थिए।
पछि देउवाले मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, किरण यादव, रूक्मिणी कोइराला जनालाई मनोनीत गरेर केन्द्रीय समितिमा शेखर पक्षका २६ जना पुगेका थिए।
शेखरको साथमा कति नेता बाँकी?
१, शेखर कोइराला
२, बद्रीप्रसाद पाण्डे
३, सञ्जय गौतम
४, सरिता प्रसाईं।