लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहले संविधानले दिएको अधिकार अझै नपाएको बताएका छन्।
संविधान दिवसका अवसर पारी शुक्रबार बिहान राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले पाउनु पर्ने बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारले आनाकानी गरिरहेको गुनासो गरे।
‘संविधानले दिएका सबै अधिकारहरु अहिले पनि प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन। संविधानले निर्दिष्ट गरेका अधिकारहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र पूर्णरूपमा कार्यान्वयनमा आउने भन्दै उनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्दै छ। सोही अनुरुप शुक्रबार बिहान प्रशासनिक परिसरमा सरसफाइ गरिएको हो।
कार्यक्रममा प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुना योग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए।
परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रका लागि सरसफाइ केन्द्र तोकिएको उनले जानकारी दिए।
सरसफाइपछि परिसरमा फल फूलका बिरुवा रोप्ने र ती संरक्षणका लागि अभियानकै रूपमा अघि बढाइने प्रमुख सचिव कुँवरले बताए।
परिसरको सरसफाइ, सुधार र संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा एक मूल्यांकन टोलीसमेत गठन गरिएको छ।
मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने योजना रहेको छ।