नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढलाउने कोशिस भए पनि अझै मैदानमै रहेको बताएका छन्।
शनिरबा संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतमा भीष्म पितामह ढलेको बताउँदै आफू अझै मैदानमै रहेको बताएका हुन्।
'भीष्म पितामह पनि सरसैया माथि ढलेका थिए, केपी ओली सरसैया माथि ढलेको छैन, खडै छ। फेरि पनि मैदानमा छ,' उनले भने।
उनले अमरसिंह थापा पनि आफ्नै उमेरमा तरबार लिएर युद्ध मैदानमा रहेको बताए।
'मैले तरबार होइन, कलम लिएर युद्धको मैदानमा छु। अमरसिंह थापा पनि ७४ वर्षको युद्धको मैदानमा थिए भने मैले पनि अहिले त मैले भारी लामो तरबार बोक्नुपरेको छैन,' उनले भने।
यद्यपि कोशिसहरू जारी रहेको र आफू त्यसबाट अनभिज्ञ नरहेको उनले बताएका छन्। तर जतिसुकै कोशिस भए पनि त्यसबाट पार नलाग्ने उनले बताए।
'यस्ता कोशिसहरू धेरै पटक भए। मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन,' उनले भने।
अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई जनताको बीचमा जान र उनीहरूलाई सचेत बनाएर अगाडी बनाउन आग्रह गरे।
'नेपाली जनतालाई भन्न चाहन्छु, यो देश हाम्रो हो, बिग्रिन नदिउँ। सच्याऔँ। नेपाली जनताले सच्याउने हो। त्यसको अगुवाइ नेकपा एमालेले गर्छ। अराजकताबाट होइन। स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिन्छ। हाम्रो गन्तव्य सही छ। आज संविधानको रक्षा र प्रणालीको रक्षा, लोकतन्त्रको रक्षा हाम्रा काँधको प्रमुख कार्यभार हो,' उनले भने।
ओलीले असोज ५,६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट बाहिर निस्कँदा भव्य वक्तव्य र एकताको संकल्पसहित निस्कने बताए।
'एकता र संकल्प, पार्टीको एकता र हाम्रा कामहरू यो गर्नेछौँ भन्ने संकल्पका साथ हामी निस्कन्छौं,' उनले भने।