पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन्।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले नेपालले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) लगायतका मञ्चमा जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसको असर अन्यायपूर्ण रूपमा भोग्नुपरेको विषय उठाउँदै आए पनि समस्या समाधानमा अपेक्षित प्रगति हुन नसकेको बताइन्।
शक्ति राष्ट्रहरूबीच ‘मैले घटाएको छैन, म किन घटाउने’ भन्ने प्रकारको प्रतिस्पर्धा भइरहेका कारण जलवायु संकट समाधानमा ठोस प्रगति हुन नसकेको उनको भनाइ थियो। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, छलफल तथा सेमिनारमा ठूलो रकम खर्च भए पनि विश्वको पारिस्थितिक प्रणालीलाई व्यवस्थित गर्ने दिशामा अपेक्षित कदम चाल्न नसकिएको उनले बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपति रहँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्दै जलवायु तथा वातावरणीय विषय उठाएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवस्था प्रस्तुत गर्दा आफूले पीडा अनुभूति गरेको बताइन्।
उनले जलवायु संकटको असरबाट जोगिन नेपालले राष्ट्रिय एकता कायम गर्दै समान समस्या भोगिरहेका देशहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘ग्लोबल वार्मिङ नियन्त्रणका लागि शक्तिशाली राष्ट्रहरूले अपनाउनुपर्ने विधि अपनाउन सकेका छैनन्। उनीहरूबीच प्रतिस्पर्धा छ र त्यसलाई मान्न तयार छैनन्। यसबाट मुक्ति पाउन हामीले राष्ट्रिय एकता कायम गर्दै समान समस्या भोगिरहेका देशहरूसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय मञ्चमा राम्रोसँग आवाज उठाउनुपर्छ।’
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय रसुवागढी लगायतका क्षेत्रमा विपद्का घटना देखिएको उल्लेख गर्दै भविष्यमा अन्य क्षेत्रमा पनि यस्ता समस्या आउन सक्ने बताइन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम नेपालले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
–न्युज एजेन्सी नेपाल