एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठक भर्खरै सकिएको हो।
बैठकले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए।
कार्यदलमा नेतृत्व परिवर्तनको विषयमा प्रश्न नगर्ने सहमति जुटेको ती नेताले बताए।
सुरूमा कार्यदलका सदस्य सचिव शंकर पोखरेलले नेतृत्व परिवर्तन र ७० वर्षे उमेर हद लागू गर्नुपर्ने उल्लेख गरेका थिए। त्यसलाई काउन्टर गर्दै कार्यदल संयोजक रामबहादुर थापा बादलले अध्यक्ष ओलीको बचाउ गर्दै अर्को प्रतिवेदन ल्याएका थिए।
दुइटा प्रतिवेदनलाई संयोजन गर्ने जिम्मेवारी भने ओलीले कार्यदलबाहिर रहेका प्रदीप ज्ञवालीलाई दिएका थिए।
ज्ञवालीले तयार पारेको प्रतिवेदन भने बैठकमा संयोजक बादलले प्रस्तुत गरेका थिए।
सुरूवातको प्रतिवेदनमा उल्लखित १३ वटा सुझावहरूलाई नयाँ प्रतिवेदनमा अनुसूचीका रूपमा राख्ने सहमति भएको पनि कार्यदलका ती सदस्यले जानकारी दिए।
कार्यदलको प्रतिवेदन केही बेरमा बस्ने केन्द्रीय सचिवालय बैठकमा पेस हुनेछ।