नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
बैठकको औपचारिक एजेन्डा तय भइनसकेको भए पनि मुख्य तीन विषयमा छलफल हुने प्रवक्ता ज्वालाले बताए।
पहिलो, संगठनात्मक सवालमा।
प्रवक्ता ज्वालाका अनुसार बैठकमा संगठित सदस्यता नवीकरण, मातहत कमिटीको अधिवेशन र महाधिवेशनबारे छलफल हुनेछ।
नेकपाको वैशाखमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।
सोही अनुसारको कार्यतालिका पनि सार्वजनिक गरिएको थियो।
जसअनुसार असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ सम्म वडा तहका अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने भनिएको थियो।
त्यस्तै असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ गतेसम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने र मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकता राष्ट्रिय माहधिवेशन आयोजना गर्ने कार्यतालिका थियो।
तर बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र विभिन्न राजनीतिक कारणले नेकपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।
मंगलबारको बैठकमा पुनः कार्यतालिका ल्याउने विषयमा पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिए।
'बाढी पहिरो लगायत विभिन्न कारणले कार्यतालिकाअनुसार अगाडि बढेन। नयाँ कार्यतालिका बनाउने गरी छलफल हुन्छ,' उनले सेतोपाटीसँग भने।
बैठकमा राष्ट्रिय राजनीतिको विषयमा, सरकारले गरेका कामहरूको विषयमा, संसद र संसदबाहिर पार्टीको भूमिका अझै चुस्त कसरी बनाउने भन्ने विषयमा छलफल हुने प्रवक्ता ज्वालाले बताए।
तेस्रो विषय रसुवा बाढीबारे छलफल हुने उनले बताए।
भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि उद्धार, राहत र पुनर्स्थापनामा पार्टीले कस्तो भूमिका खेल्यो भन्ने बारे छलफल हुने उनले बताए। पार्टीको तर्फबाट थप काम कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।
सँगै त्यस सम्बन्धमा सरकारले गरेको कामको पनि समीक्षा हुने प्रवक्ता ज्वालाले बताए।
'सरकार कहाँ कहाँ चुक्यो, कहाँ कहाँ कमजोरी गर्यो, र अब के गर्नुपर्ने भन्ने विषयमा छलफल गरी ध्यानाकर्षण गराउँछौं,' उनले भने।
नेकपाको केन्द्रीय कार्यसंयोजन समिति ४५ सदस्यीय छ।