अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ।
संयुक्त राष्ट्रसंघको महासभाका साइडलाइनमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुने तय भएको अमेरिकी अनलाइन एक्सियसयले जनाएको छ।
भेटवार्तामा रूस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास र पछिल्ला दिनमा बढेको सैन्य तनावबारे छलफल हुने अनुमान छ।
जेलेन्स्कीले आइतबार ट्रम्पसँग फोनवार्ता गरेपछि ट्रम्प उनलाई भेट्न तयार भएका थिए।
उनले भेटवार्ताले युद्ध समाधानका लागि भइरहेको कूटनीतिक प्रयासमा नयाँ गति दिन सक्ने बताएका छन्।
उनले रूससँग तनाव घटाउने सम्झौताका लागि ‘गम्भीर कदम’ चाल्न युक्रेन तयार रहेको पनि बताएका छन्।
ट्रम्प प्रशासनले रूस र युक्रेनलाई पारस्परिक रूपमा तनाव घटाउने कदम चाल्न लगाएर वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको छ।
जेलेन्स्कीका प्रमुख वार्ताकार तथा युक्रेनी विदेश गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका सल्लाहकार ज्यारेड कुश्नरसँग पछिल्ला दिनमा भेटवार्ताको तयारीबारे काम भइरहेको बताएका छन्।
यो भेट ट्रम्पले रूसमाथि थप प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेको र युक्रेनका लागि आफ्नो कार्यकालकै सबैभन्दा ठूलो अमेरिकी हतियार सम्झौता स्वीकृत गरेको केही दिनपछि हुन लागेको हो।
युक्रेनले लामो समयदेखि रूसमाथि थप प्रतिबन्ध र सैन्य सहयोग बढाउन अमेरिकासँग आग्रह गर्दै आएको थियो।
यसअघि भएको फोनवार्तामा ट्रम्पले जेलेन्स्कीलाई रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गरिरहेको ड्रोन आक्रमण रोक्न आग्रह गरेका थिए।
ती आक्रमणका कारण विश्व बजारमा डिजेलको मूल्य बढिरहेकाले ट्रम्पले तेल प्रशोधन केन्द्रमा हमला नगर्न भनेका थिए।
उमेरोभका अनुसार रूस–युक्रेन वार्तामा उल्लेखनीय प्रगति भएको छ।
उनले वार्ताका क्रममा रहेका दर्जनौँ अवरोध घटेर अहिले एक वा दुई प्रमुख विषयमा सीमित भएको दाबी गरेका छन्।
अमेरिकी पक्ष युद्ध रोक्ने विषयमा केन्द्रित रहेको र वार्ता पुनः अघि बढाउने प्रयास भइरहेको उनको भनाइ छ।
तर कूटनीतिक प्रयाससँगै रूस र युक्रेनबीचको सैन्य तनाव पछिल्ला दिनमा झन् बढेको छ।
आइतबार युक्रेनले मस्कोसहित रूसका विभिन्न क्षेत्रमा ११०० बढी ठूलो ड्रोन र मिसाइलले हमला गरेको थियो।
त्यसको अघिल्लो तथा सोही अवधिमा रूसले पनि किभ र अन्य युक्रेनी सहरमा लगातार ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ।
यही बढ्दो सैन्य तनावका बीच ट्रम्प र जेलेन्स्कीबीच हुन लागेको भेटलाई युद्ध रोक्ने सम्भावित वार्ताका लागि महत्त्वपूर्ण कूटनीतिक सम्पर्कका रूपमा हेरिएको छ।
तर रूस र युक्रेनबीच ठोस सम्झौताका लागि आवश्यक विषयहरूमा अझै सहमति हुन बाँकी रहेको छ।