पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानका तीनै जना बहिनीलाई पक्राउ गरेको छ।
खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले आगामी सेप्टेम्बर २७ मा देशव्यापी प्रदर्शन तथा इस्लामाबाद मार्चको घोषणा गरेको बेला उनका बहिनीहरू पक्राउ परेका भनेर फाइनान्सियल टाइम्सले जनाएको छ।
पक्राउ पर्नेमा अलीमा खान, उज्मा खान र नुरिन नियाजी छन्। उनीहरू इमरान खानको रिहाइको माग गर्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए। तीनै जना औपचारिक रूपमा पिटिआईको राजनीतिक वा पार्टीगत जिम्मेवारीमा भने छैनन्।
लाहोरका जिल्ला प्रशासनले आइतबार अलीमालाई ३० दिन हिरासतमा राख्ने आदेश दिएको थियो।
सार्वजनिक सुरक्षा र कानुन व्यवस्था कायम राख्न उनको सार्वजनिक उपस्थितिले ‘गम्भीर खतरा’ निम्त्याउन सक्ने भन्दै यस्तो आदेश जारी गरिएको प्रशासनको भनाइ छ। उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको छ।
त्यसको एक दिनपछि उज्मा र नुरिनलाई पनि पाकिस्तानको ‘मेन्टेनेन्स अफ पब्लिक अर्डर’ (एमपीओ) कानुन अन्तर्गत ३० दिनका लागि हिरासतमा लिइएको हो।
उनीहरूलाई पनि कोट लखपत जेलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पीटिआईले भने उनीहरूको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विरोध गरेको छ।
पार्टीका प्रवक्ता शेख विकास अक्रमले सामाजिक सञ्जाल एक्समा अलीमासहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिइएको भन्दै यसलाई अधिकारको दुरुपयोग भएको बताएका छन्। परिवारका सदस्यहरूले पनि उनीहरूलाई जबर्जस्ती लगिएको दाबी गरेका छन्।
अलीमाका छोरा शेरशाह खानले सामाजिक सञ्जालमा आफ्नी आमाको अवस्थाबारे परिवारलाई जानकारी नभएको बताएका थिए।
उनले आफ्नो घर वरिपरि सुरक्षाकर्मी परिचालन गरी सडकका दुवै छेउ बन्द गरिएको र परिवारलाई घरमै नजरबन्द जस्तो अवस्थामा राखिएको दाबी गरेका थिए। पछि अलीमाका दुई छोरालाई पनि केही समय नियन्त्रणमा लिइएको बताइएको थियो। उनीहरूलाई पछि रिहा गरिएको उनका वकिलले पुष्टि गरेका छन्।
इमरानको रिहाइ माग्दै सेप्टेम्बर २७ मा आन्दोलन
पिटीआईले इमरान खानको रिहाइ तथा संविधानको सर्वोच्चता कायम गर्न माग गर्दै सेप्टेम्बर २७ मा देशव्यापी प्रदर्शन र इस्लामाबाद मार्च गर्ने घोषणा गरेको छ।
पार्टीले हालै पारित केही कानुन तथा संवैधानिक संशोधनले पाकिस्तानको न्यायपालिकालाई कमजोर बनाएको आरोपसमेत लगाउँदै आएको छ।
सरकारले भने उक्त प्रदर्शन रोक्ने तयारी गरेको छ। गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबादतर्फको मार्च रोक्न सरकार आवश्यक सबै कदम चाल्ने बताएका छन्।
प्रदर्शनलाई ध्यानमा राखेर इस्लामाबाद र पञ्जाब प्रान्तमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सडकमा ठूला कन्टेनर राखेर सम्भावित प्रदर्शनकारीको आवागमन रोक्ने तयारी गरिएको छ।
पीटीआईले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आएको छ।
तीन वर्षदेखि जेलमा इमरान
इमरान खान करिब तीन वर्षदेखि जेलमा छन्। उनी माथि भ्रष्टाचारदेखि आतंकवादसम्मका विभिन्न मुद्दामा मुद्दा चलाइएको छ। पीटीआईले ती मुद्दाहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै आएको छ।
उनका अधिकांश फैसलाहरू अपिल पछि निलम्बित वा उल्टिएका छन्। उनकी पत्नी बुशरा बीबी पनि जेलमा छिन्।
जेलमा रहेका इमरानसँग भेट्न उनका बहिनीहरूलाई अनुमति दिइँदै आएको थियो। उनीहरूले जेलमा भेटेर उनका सन्देश बाहिर सञ्चारमाध्यम तथा समर्थकसम्म पुर्याउँदै आएका थिए। तर सरकारले उनको परिवारले सञ्चारमाध्यमसँग गर्ने सम्पर्कमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको पीटीआईको आरोप छ।
गत महिना सरकारी अस्पतालमा उपचार गराइरहेका इमरानलाई भेटेपछि उज्माले पत्रकार सम्मेलन गरी उनका दाइले आफूले पर्याप्त उपचार नपाएको र जेलमै आफूलाई मार्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरेको बताएकी थिइन्।
इमरान खानको लोकप्रियता भने जेलमा रहे पनि कायम रहेको विश्लेषकहरूले बताउँदै आएका छन्। यही कारण उनको समर्थन आधार पाकिस्तानको सैन्य प्रभावमा रहेको सरकारका लागि चुनौतीका रूपमा रहेको विश्लेषण हुँदै आएको छ।
पछिल्ला पक्राउसँगै पीटीआईको प्रस्तावित सेप्टेम्बर २७ को आन्दोलनअघि पाकिस्तानमा राजनीतिक तनाव थप बढेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)