इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार छोप्ने पहिरनमाथि प्रतिबन्ध लगाउने र कक्षाकोठामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने कानुन ल्याउने तयारी गरेकी छिन्।
मेलोनीले आइतबार आफ्नो दक्षिणपन्थी दल ‘ब्रदर्स अफ इटाली’को युवा संगठनले आयोजना गरेको फेनिक्स कार्यक्रममा सरकार दुईवटा विधेयक तयार गरिरहेको बताएकी भनेर अमेरिकी अनलाइन पोलिटिकोले जनाएको छ। प्रस्तावित व्यवस्था अन्तर्गत विद्यालयमा अनुहार छोप्ने पहिरन प्रतिबन्धित गरिनेछ भने एउटा कक्षामा विदेशी विद्यार्थीको संख्यामा सीमा तोकिनेछ।
उनका अनुसार विदेशी विद्यार्थीको संख्या सीमित गर्ने प्रस्तावको उद्देश्य विद्यालयमा एकीकरणको प्रक्रियालाई प्रभावकारी बनाउनु हो।
‘इटालियन बालबालिकाले आफ्नै कक्षाकोठामा आफूलाई अल्पसंख्यक महसुस गर्नु हुँदैन,’ मेलोनीले भनिन्।
उनले इटालियन भाषा नबुझ्ने बालबालिकाको संख्या कुनै कक्षामा धेरै भयो वा उनीहरू नै बहुसंख्यक भए त्यो एकीकरण नभई ‘उपेक्षा’ हुने बताइन्।
तर सरकारले एउटा कक्षामा कति विदेशी विद्यार्थी राख्न पाइने भन्ने ठोस सीमा भने सार्वजनिक गरेको छैन।
इटालीका विद्यालयमा नौ लाख ३० हजारभन्दा बढी विदेशी विद्यार्थी
इटालीको विद्यालय प्रणालीमा गैर-इटालियन नागरिकता भएका विद्यार्थीको संख्या पछिल्ला वर्षमा उल्लेख्य छ।
आप्रवासीबारे खोज गर्ने संस्था फोन्डाजयोन आईएसएमयुका अनुसार सन् २०२३/२४ को शैक्षिक वर्षमा इटालीका विद्यालयमा गैर-इटालियन नागरिकता भएका करिब नौ लाख ३० हजार विद्यार्थी थिए। यो कुल विद्यार्थी संख्याको करिब ११.६ प्रतिशत हो।
सो संस्थाका अनुसार पछिल्लो दुई दशकमा गैर-इटालियन नागरिकता भएका विद्यार्थीको अनुपात बढेको छ। सन् २००३/०४ मा कुल विद्यार्थीमध्ये उनीहरूको हिस्सा ३.५ प्रतिशत थियो भने २०२३/२४ मा ११.६ प्रतिशत पुगेको छ।
मेलोनीले उल्लेख गरेको ‘विदेशी विद्यार्थी’ भन्नाले नागरिकता नभएका विद्यार्थीलाई जनाइएको हो। तीमध्ये सबै विदेशमा जन्मिएका वा हालै इटाली पुगेका विद्यार्थी भने होइनन्। आईएसएमयुका अनुसार गैर-इटालियन नागरिकता भएका विद्यार्थीमा इटालीमै जन्मिएका विद्यार्थीसमेत ठूलो संख्यामा छन्।
अभिभावकलाई पनि इटालियन भाषा सिकाउने प्रस्ताव
मेलोनी सरकारले विद्यालयमा घुलमेल हुन गम्भीर कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्नुपर्ने व्यवस्था पनि प्रस्तावित प्याकेजमा राख्ने बताएको छ।
मेलोनीले इटालीमा बस्न चाहने आप्रवासीहरूले इटालियन भाषा सिक्नुपर्ने, देशको संस्कृति बुझ्नुपर्ने र कानुनको सम्मान गर्नुपर्ने बताउँदै आएकी छन्।
उनको सरकारका लागि आप्रवासन प्रमुख राजनीतिक मुद्दामध्ये एक रहँदै आएको छ।
बुर्का–नकाबमाथि प्रतिबन्धको पुरानै प्रयास
विद्यालयमा अनुहार छोप्ने पहिरन प्रतिबन्ध लगाउने मेलोनी सरकारको यो पहिलो प्रयास भने होइन।
सन् २०२५ मा उनको दलले बुर्का र नकाबमाथि देशभरका सार्वजनिक स्थानमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो। त्यसलाई सरकारले ‘इस्लामिक पृथकतावाद’ विरुद्धको कदमका रूपमा प्रस्तुत गरेको थियो। उक्त विधेयक अझै इटालीको तल्लो सदनमा विचाराधीन रहेको छ।
अहिले प्रस्तावित नयाँ व्यवस्था भने विशेषगरी विद्यालयमा लागू हुनेछ। मेलोनीले घोषणा गरेको प्रस्ताव संसदबाट पारित नभएसम्म कानुनका रूपमा लागू हुने छैन।
इटालीमा विद्यालय, आप्रवासन र धार्मिक पहिरन सम्बन्धी प्रस्तावले एकीकरण, धार्मिक स्वतन्त्रता र सार्वजनिक शिक्षामा सांस्कृतिक विविधताको विषयमा नयाँ बहस निम्त्याउने देखिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)