नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई अध्यक्ष पदबाट विस्थापित गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई 'बेमौसमी बाजा' को संज्ञा दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पुनर्गठनको नाममा नेतृत्व फेर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका हुन्।
'यतिबेला केही व्यक्तिहरूले अध्यक्ष विस्थापित गर्ने मनसाय र प्रयासका बेमौसमी बाजा बजाइरहेको पाइएको छ र त्यसका लागि पुनर्गठनको नारा उछालिएको छ,' प्रतिवेदनमा ओलीले भनेका छन्, 'के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ?'
पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभई असहज र असामान्य अवस्थामा बाध्यतावश गरिने कार्य भएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, ओलीले निर्वाचनमा प्राप्त पराजयपछि परिस्थिति र परिणामको समीक्षा हुनुपर्छ भन्ने आवाजलाई आफूले अस्वीकार नगर्ने बताउँदै अध्यक्ष ओलीले संकटको बेला जिम्मेवारीबाट भाग्न नमिल्ने उल्लेख गरेका छन्।
'नैतिक जिम्मेवारी स्वीकार गर्नु भनेको सङ्कटको बीचमा संगठनलाई नेतृत्वविहीन बनाउनु होइन। जिम्मेवारीको अर्थ समस्या पहिचान गरेर समाधानको नेतृत्व गर्नु पनि हो,' प्रतिवेदनमा भनिएको छ, 'म पदको निजी प्रतिष्ठाका लागि उभिएको होइन। पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको हुँ।'
आफ्नो कार्यशैली वा निर्णयमा त्रुटि हुन सक्ने स्वीकार गर्दै उनले गल्ती सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए।
'गल्ती देखेर पनि नदेखेजस्तो गर्ने नेतृत्व कमजोर हुन्छ। गल्ती स्वीकार गरेर सुधार गर्ने नेतृत्वले नै संगठनलाई अगाडि लैजान सक्छ,' ओलीले भनेका छन्।
अनुभव र नयाँ ऊर्जालाई जोडेर काम गर्दै र सिकेर जिम्मेवारी लिँदै नेतृत्व विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।