नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत एकैसाथ मुलुकभर भएको वडा अधिवेशन बहिष्कार गरेको भन्ने कुरा गलत बुझाइ भएको बताएका छन्।
केही व्यक्तिहरूले सामाजिक सञ्जालमा आफू लगायतको तस्बिर राखेर आफूसँग बुझ्दै नबुझी र सोध्दा पनि नसोधी मनपरी लेखेकोप्रति दुःख लागेको बताए।
‘मनपरी सामाजिक सञ्जालमा लेख्नेहरूलाई बहिष्कार भन्ने शब्दको अर्थ थाहा छ जस्तो लागेन,’ खड्काले प्रश्न गरे, ‘म शान्त बसेको छु र युवालाई स्थान छोडिएको छ, त्यसलाई आफूखुसी बहिष्कार गरेको भनेर लेखिदिन मिल्छ?’
उनले आफू र आफ्नो परिवारको जीवन नै रुख र चार तारे झण्डाप्रति समर्पित रहेको भन्दै कसैले गरेको गलत प्रचारबाजीमा एक अंश पनि सत्यता नभएको प्रतिक्रिया दिए।
पूर्व सभापति खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ को वडा अधिवेशनका क्रममा आफूले कुनै असहयोग नगरेको बरु अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आफ्नो ठाउँबाट सहयोगी भूमिका निर्वाह गरेको बताए।
‘म रुखको छाहारीमुनि शान्त बसेको छु र मैले परिवर्तित परिस्थितिमा युवाको भावनालाई सम्मान गरेको छु,’ खड्काले भने, ‘त्यही कुरालाई बहिष्कार गर्यो भनेर आफूखुसी मनपरी सामाजिक सञ्जालमा लेख्नेहरूदेखि दिक्क लागेको छ।’
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले खड्काभन्दा पहिलेका जिल्ला सभापति घनश्याम रेग्मी, उनीभन्दा पहिलाका जिल्ला सभापति बिरकेश्वरी गौतम र पूर्व जिल्ला सभापति तथा पूर्व माननीय गेहेन्द्र गिरी लगायतका तस्बिरहरू राखेर बहिष्कार गरेको भन्दै लेखेका थिए।
पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले पनि आफू शान्त बस्दा गलत कुरा नलेख्न आग्रह गरेका छन्।
‘म सधैँ चारतारे झण्डा र रुख चिन्ह अंकित आधिकारिक नेपाली कांग्रेसको पक्षमा छु,’ उनले भने, ‘त्योभन्दा बढ्ता कुरा मलाई केही भन्नु छैन।’
पूर्व सभापति द्वय खड्का र रेग्मीले आफूहरू निरन्तर क्रियाशील सदस्यहरू रहँदै आएको तथा पार्टीभित्र सबैलाई मिलाएर लैजाने प्रयास सधैँभरि गर्दै आएको बताएका छन्।
दुवै जनाले भ्रामक तथा कपोलकल्पित कुराहरू नलेख्न आग्रह गरेका छन्।
यो वडा अधिवेशनमा तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, दाङ क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि युवराज खड्का, तुलसीपुर–५ का निवर्तमान वडा सभापति नवीन बुढाथोकी लगायतका केही युवाले भने यो महाधिवेशनमा आफूहरूले सहभागिता जनाएनन्। उनीहरू सबै निवर्तमान केन्द्रीय सदस्य तथा जिल्लाका नेता गेहेन्द्र गिरीनिकट मानिन्छन्।