सत्तारूढ रास्वपा सांसद क्रान्तिशिखा धितालले काठमाडौंको त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा घाइते भएका चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने बताइन्।
केही समयअघि त्रिपुरेश्वरमै यस्तै घटनामा गणेश नेपालीको ज्यान गएको स्मरण गरिन्। उनले यी दुई घटनाले मुख्यतः दुई विषयमा सोच्नुपर्ने अवस्था सिर्जना गरेको उनले बताइन्।
उनका अनुसार पहिलो विषय प्रहरी र ट्राफिकको कार्यशैली हो। उनले बर्दी लगाएका सुरक्षाकर्मीप्रति सम्मान रहेको बताउँदै सडकमा यात्रु तथा चालकसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा प्रहरीलाई दिइएको प्रशिक्षण र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने बताइन्।
‘हामीलाई सडकमा यात्रु वा चालकसँग कस्तो व्यवहार गर्ने भनेर जे सिकाइएको छ, त्यसमा गम्भीर समस्या छ कि भनेर एकपल्ट सोचौं। बदल्नुपर्ने कुरा बदलौं,’ उनले भनिन्।
दोस्रो विषय चालकहरूको मनोसामाजिक अवस्था रहेको धितालले बताइन्। चालकसँग धेरै यात्रुको भविष्य जोडिएको भन्दै उनीहरूको आत्मसम्मान, इज्जत, सेवा–सुविधा, तलब, खानपान तथा शारीरिक र मानसिक स्वास्थ्यमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ।
न्यून तलब, कमजोर आत्मसम्मान, लामो समयसम्म काम गराउने र पर्याप्त आराम नदिने तथा कति कमाएर ल्यायो भन्ने विषयलाई मात्रै प्राथमिकता दिने अवस्थाबारे पनि गम्भीर रूपमा सोच्नुपर्ने उनले बताइन्।
त्रिपुरेश्वरका पछिल्ला दुई घटनाबाट राज्य, यातायात व्यवसायी, चालक तथा उनीहरूका परिवार र प्रहरी–ट्राफिक सबैले सिक्नुपर्ने धितालको भनाइ छ। चालकलाई मात्रै दोष दिएर समस्या समाधान नहुने भन्दै उनले सरकार, सम्बन्धित निकाय र यातायात व्यवसायीको ध्यानाकर्षण गराइन्।