नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरू हुँदैछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तयारी छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, यसअघि केन्द्रीय सदस्यहरूलाई काम गर्न चाहेका क्षेत्रबारे खुलाउन दिइएको फारम, हामी तयार छौं अभियानलगायत विषयमा छलफल हुनेछ।
कांग्रेसले शपथकै बेला केन्द्रीय सदस्यहरूलाई आफूले काम गर्न चाहेको क्षेत्रबारे खुलाउन र योजना पेस गर्न निर्देशन दिएको थियो।
साथै 'हामी तयार छौं' अभियान मंसिर १ गतेदेखि चलिराखेकोले त्यसको बारेमा पनि छलफल हुने उनले जानकारी दिए।
कांग्रेसले आजदेखि सुरू हुने बैठकमा केन्द्रीय सदस्यहरूलाई पनि धारणा राख्न समय दिने भएको छ। त्यसकारण केन्द्रीय समिति बैठक चार-पाँच दिनसम्म चल्ने सम्भावना छ।
असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशनबाट २३१ जना निर्वाचित भएर आइसकेका छन्।
४ सहमहामन्त्रीसहित ६६ केन्द्रीय सदस्य मनोनीत गर्न भने बाँकी छ। सभापति गगन थापाले केन्द्रीय सदस्यमध्येबाट यी पद मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै पनि पदमा मनोनीत गरेका छैनन्।
प्रवक्ता र सहप्रवक्ताहरू पनि तोकिएको छैन।