नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले स्पष्ट कार्ययोजनासहित नेतृत्व हस्तान्तरणको समय तोकेर अघि बढ्नुपर्ने माग राखेका छन्।
एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै गैरेले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र दस्तावेज पुनर्लेखनको विषयमा ध्यान दिनुपर्ने बताए।
गैरेले संगठनको नेतृत्वको पुनर्संरचना र नेतृत्व हस्तान्तरणका विषयहरूलाई स्पष्ट कार्ययोजना बनाएर लैजानुपर्नेमा जोड दिए।
‘अध्यक्षद्वारा पेस गरिएको वर्तमान प्रतिवेदनलाई पुनर्लेखन गर्नुपर्छ। बैठकमा सदस्यहरूले उठाएका विषय, विभिन्न भनाइहरू र यसअघि निर्वाचनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनलाई समेत समेटेर एकीकृत प्रतिवेदन बनाउनुपर्छ,’ उनले भने, ‘अहिले नेताहरू मिल्यौँ भन्दैमा र घोषणा गर्दैमा भोट बढ्नेवाला छैन। यसका लागि नेतृत्व र नेतृत्व प्रणालीकै पुनर्गठन जरुरी छ।’
पार्टीलाई पुनर्गठन नगरी यही अवस्थामा अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार पाउनसमेत मुस्किल हुने र पार्टीका साथीहरू अन्यत्र गएर चुनाव लड्ने खतरा रहने चेतावनी दिँदै उनले पुनर्गठनपछि मात्र निर्वाचनमा जानुपर्ने बताए।
यसअघि, बैठकको सुरुवातमै समय मागेर पार्टी सञ्चालन र कार्यक्रम व्यवस्थापनलाई लिएर गैरेले कडा व्यङ्ग्य गरेका थिए।
केन्द्रीय कमिटीको कार्यक्रम र सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले भनेका थिए, ‘सबै आफैले चलाउने र सबै कुरा आफैले लिने हो भने तपाईंहरूले सबै पदाधिकारी हटाएर एकल नेतृत्वमा जानुस्। केन्द्रीय कमिटीमा आफैले कार्यक्रम चलाउने र आफैले सबै कुरा गर्ने हो भने अरू किन चाहियो?’