नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय अभियान चलाउने भएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
यो अभियान असोज १५ गतेदेखि सुरू भई मंसिर १५ गतेसम्म चल्ने र केन्द्रदेखि गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर सञ्चालन गरिने उनले बताए।
यसको विस्तृत कार्ययोजना र कार्यविधि भने पार्टीको केन्द्रीय सचिवालय बैठक बसेर तय गर्नेछ।
प्रवक्ता ज्वालाका अनुसार सचिवालय बैठक दसैं अगाडि बस्ने तय भएको छ।
त्यसबीच पार्टी र जनवर्गीय संगठनका बाँकी कामहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरिनेछ।
सरकारले गरेको जनविरोधी कामको भण्डाफोर गर्न व्यवस्थित कार्ययोजना ल्याउने पनि उनले बताए।
'त्यो कार्ययोजना पनि दसैंअघि बस्ने सचिवालय बैठकले तय गर्नेछ,' प्रवक्ता ज्वालाले भने।
आगामी मंसिर १५ सम्म राष्ट्रिय जनअभियान चलाएपछि आवश्यकता अनुसार संसद र सडक दुवै माध्यमबाट सशक्त आवाज उठाउन सचिवालयले थप आन्दोलनका कार्यक्रम तय गर्नेछ।