अमेरिकाले भोटेकोशी–त्रिशूली बाढीपछि नेपालको पुनर्लाभ कार्यक्रमका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र राजनीति मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरबीच भएको भेटवार्तामा हुकरले थप सहयोगको घोषणा गरेकी हुन्।
अमेरिकी दूतावासका अनुसार नयाँ सहयोगसँगै नेपालमा बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।
भेटवार्तामा उपविदेशमन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारसहित नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको सहानुभूति व्यक्त गरिन्।
अमेरिकाले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापनाका लागि आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड डलर उपलब्ध गराउने योजना बनाएको छ।
ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ।
त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, स्वच्छता तथा सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोका लागि आवश्यक सहयोग गर्न थप ८० लाख डलर उपलब्ध गराउने योजना रहेको हुकरले बताइन्।
अमेरिकी विदेश मन्त्रालयले भविष्यमा विपद्पछिको पुनर्स्थापना कार्यमा अझ प्रभावकारी रूपमा सहयोग गर्न अमेरिकामा निर्मित ड्रोनका लागि १ करोड ३० लाख डलर उपलब्ध गराउने योजना पनि बनाएको छ।
अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित र सहयोगको आवश्यकता रहेका क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्याउन नेपालसँग निकट सहकार्य जारी राख्ने जनाएको छ।