नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले संसद पुनर्स्थापनालाई मुख्य कार्यभार बनाएर आन्दोलनमा जानु पार्टीका लागि आत्मघाती हुने चेतावनी दिएकी छन्।
जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै उनले २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनपछि घट्दै गएको जनविश्वास र पार्टीको ओरालो यात्रालाई यस्तो कदमले अझ तीव्र र क्षतविक्षत बनाउने बताएकी हुन्।
अध्यक्षको प्रतिवेदनमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलन गर्ने विषय मुख्य कार्यभारका रूपमा प्रस्तुत गरिएकोप्रति ध्यानाकर्षण गराउँदै खड्काले भनिन्, ‘यदि यस्तो गरियो भने आम जनतामा टुट्दै गएको हाम्रो भरोसा र ओरालो यात्रालाई यसले अझै तीव्र बनाउने मात्रै हैन, क्षतविक्षत बनाउनेछ। कृपया यतातर्फ नलागौँ।’
पार्टीको खस्कँदो जनमत र पछिल्लो निर्वाचन परिणामको निर्मम समीक्षा हुनुपर्नेमा जोड दिँदै उनले १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा ९ वटामा मात्रै प्रत्यक्ष जित हासिल हुनु, ४९ ठाउँमा जमानत जफत हुनु र माथिल्लो नेतृत्व नै पराजित हुनुजस्ता तथ्यहरूलाई स्वीकारेर अघि बढ्नुपर्ने बताइन्।
कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत नगर्नु अत्यन्तै गलत निर्णय भएको उनको टिप्पणी थियो।
यसैगरी, पार्टीभित्र विचार, व्यवहार र कार्यशैलीभन्दा पनि नेतृत्वको प्रशंसा र आलोचनाका आधारमा मात्रै मूल्यांकन हुने परिपाटी अन्त्य हुनुपर्नेमा खड्काले जोड दिइन्।
विचार र एजेण्डामा असहमति राख्दैमा 'पार्टी विभाजन गर्न खोजेको' आरोप लगाउन बन्द गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धालाई नेतृत्वप्रतिको अनादरका रूपमा हेर्न नहुने उनको भनाइ थियो।
देशमा १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत र ५० वर्षमुनिका मतदाता करिब ६७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै उनले पार्टीको नीति निर्माण तहमा यो उमेर समूहको प्रतिनिधित्व शून्य हुनु अस्वाभाविक र चिन्ताजनक रहेको बताइन्।
साथै, डिजिटल प्लेटफर्ममा आउने जनमत र आलोचनालाई घेराबन्दी वा षड्यन्त्र मात्र नठानी त्यसले जनमत निर्माणमा खेल्ने निर्णायक भूमिकालाई बुझ्न र आफ्ना अभिव्यक्तिहरूमा संयमता अपनाउन पनि उनले केन्द्रीय कमिटीको ध्यानाकर्षण गराइन्।