नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको समग्र नीति, रणनीति, कार्यनीति र सांगठनिक संरचनामाथि गम्भीर समीक्षा गर्दै ठोस रूपान्तरणको कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बुधबारको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता रिजालले अध्यक्षको प्रतिवेदनको समर्थनका साथै पार्टी जीवन र राष्ट्रिय राजनीतिसँग जोडिएका आठ महत्त्वपूर्ण विषयमा गहन छलफलको माग गरेका छन्।
रिजालले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी अध्यक्ष स्वयंले लिएर प्रस्तुत गरेको मार्गचित्र र त्यसमा उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलको व्याख्याले शीर्ष नेताहरूबीच खडा भएको अविश्वास र आशङ्कालाई समाप्त पारेको बताए।
आगामी स्थानीय निर्वाचन नै पार्टीको मुख्य कार्यभार भएको उल्लेख गर्दै उनले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नै पालिका जिताउन उत्तरदायी बनाउनका लागि उम्मेदवार छनोट प्रक्रियादेखि नै संस्थागत रूपमा सामेल गराउनुपर्ने प्रस्ताव गरे।
भदौ २३–२४ को घटनाक्रम र नेतृत्वको सुरक्षामा सेनाको सकारात्मक भूमिका रहे पनि संसदमा पार्टीको प्रस्तुतिले सेनासँग टकराव बढाएको जस्तो देखिएकाले सेनाप्रतिको आधिकारिक दृष्टिकोण स्पष्ट पार्नुपर्ने उनको धारणा थियो।
उनले पार्टीलाई आधुनिकतातर्फ लैजान भौतिकका साथै डिजिटल मोर्चालाई चुस्त बनाउनुपर्ने धारणा राखे।
‘पार्टीलाई आधुनिकतातर्फ लैजान फिजिकलका साथै डिजिटल मोर्चालाई चुस्त बनाउनुपर्ने धारणा राख्दै उहाँले केन्द्रमा २४ घण्टै क्रियाशील रहने डिजिटल विभाग र प्रदेश तथा स्थानीय तहसम्म यसको प्रभावकारी उपस्थिति हुनुपर्छ,’ उनले भने, ‘नयाँ पुस्तालाई भित्र्याउन विभागहरूलाई ५० प्रतिशत एक्सपर्ट युवाहरू समेट्ने गरी पुनर्गठन गर्नुपर्छ। त्यसैगरी, निर्णायक राष्ट्रिय शक्ति, दुई दलीय व्यवस्था जस्ता नारा तथा रास्वपाप्रतिको ढुलमुले नीतिको फाइदा-घाटाबारे निर्मम समीक्षा हुनुपर्छ।’
२०४७ यता १७ वटा सरकारमा सहभागिता र ७ पटक नेतृत्व गर्दा जहिले, जोसँग पनि सत्तामा जाने कार्यनीतिले पार्टीलाई सत्ता-बजारको उपभोक्ता मात्र बनाएको उनको भनाइ छ।
रिजालले कि त यो कार्यनीति फेर्न वा समाजवाद-साम्यवादको रणनीति नै पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।