नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्षविरूद्ध लाग्नु र महाधिवेशनको जनादेश विपरीत घेराबन्दी गर्नु पूर्णतः गलत भएको बताएका छन्।
एमाले केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्व माथिको निरन्तर प्रहारले सङ्गठनलाई कमजोर बनाएको भन्दै अध्यक्षको प्रतिरक्षामा उभिन र गुटबन्दी छाडेर एकजुट हुन पार्टीपङ्क्तिलाई आह्वान गरे।
महाधिवेशनका ७५ प्रतिशत प्रतिनिधिले स्वीकृत गरिसकेको 'अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने' विषयलाई बारम्बार मिडियामा लगेर माहोल बनाउन खोज्नु अनुचित भएको बताउँदै उनले पार्टीलाई अन्त्यहीन बहसको 'डिबेट क्लब' नबनाउन चेतावनी दिए।
'पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव विभिन्न तहका बैठक र एघारौँ महाधिवेशनको ७५ प्रतिशत मतबाट अस्वीकृत भइसकेपछि त्यसलाई निरन्तर मिडियामा लगेर माहोल बनाउन खोज्ने कार्य उचित होइन,' उनले भने, 'पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन। व्यक्ति मन पर्ने वा नपर्ने हुन्छ, तर महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन हरेकका लागि स्वेच्छिक नभएर बाध्यकारी हुनुपर्छ।'
पार्टी पराजयको कारण खोज्नुपर्नेमा कार्यदलले 'पात्र' खोज्न ध्यान केन्द्रित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
'दुई कार्यकाल र ७० वर्षे उमेरहद कुनै रामबाण उपचार होइन। मलाई लाग्छ- आज नेतृत्व परिवर्तन मात्र समाधान होइन,' उनले भने, 'यसो भन्ने हो भने पहिलो र दोस्रो पुस्ता तथा सचिवालयका सबैले तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्छ भन्न सकिन्छ। चौतर्फी प्रहारको घडीमा नेतृत्व सहजै दिएर वा लिएर मात्र पार्टी गुल्जार बन्दैन।'
उनले नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरणको मार्गदर्शन राजनीतिक प्रतिवेदनमा स्पष्ट आएको उल्लेख गरे।